२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

थिङ समुदायको पहिलो सगरमाथा आरोही बने सुवास

Nada
२०८३ जेठ ११ गते १३:५६
Shares
थिङ समुदायको पहिलो सगरमाथा आरोही बने सुवास

काठमाडौं : ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाका सुवास तामाङ थिङले विश्वको सर्वोच्च शिखर (८८४८ मि) सगरमाथा आरोहण गरेका छन् । थिङ समुदायबाट पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेर उनले नेपालको झण्डा फहराए ।

ncell

अघिल्लो वर्ष क्याम्प ३ (७ हजार ९००) मा पुगेका थिङ यस पटक जेठ ६ गते राति ११ बजेर १२ मिनेट जाँदा चुचुरोमा पुगेका हुन् । बेस क्याप्पबाट ३ दिन लगाएर सगरमाथाको चुचुरोमा पुगेको उनले बताए । यसअघि क्याम्प २ र ३ पुगिसकेकाले यो पटक चुचुरो आरोहणमा सहज भएको थिङ बताउँछन् । ‘कठिन परिस्थितिका बाबजुद लामो संघर्ष र मिहिनेतपश्चात सगरमाथा आरोहण गरेर आफ्नो समुदाय, खिजीदेम्वा गाउँपालिका, ओखलढुंगा जिल्ला र सिंगो राष्ट्रमा नाम लेखाउन सफल भएकोमा खुसी छु’, उनले भने । थिङ सगरमाथाको चुचुरोमा केही मिनेट रहेर नेपालको झण्डा फहराएर अहिले बेसक्याम्पमा झरिसकेका छन् ।

गौरवका रूपमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेर सुवास थिङले आफ्नो गाउँ, परिवार र सम्पूर्ण थिङ समुदायको नाम उच्च राख्न सफल भएको खिजिदेम्बा–६ का शेरबहादुर तामाङले बताए । ओखलढुंगा जिल्ला, खिजीदेम्वा गाउँपालिका–६ चित्रे स्थायी घर भएका सुवास दुतबहादुर तामाङका नाति तथा बेदबहादुर तामाङका छोरा हुन् । उनी थिङ समुदायबाट पहिलो सगरमाथा आरोही बनेर कीर्तिमानी व्यक्ति बन्न सफल भएको भन्दै स्थानीय तथा आफन्तहरूमा खुसीयाली छाएको छ ।  

सुवास थिङको यस ऐतिहासिक सफलताले खिजीदेम्वा क्षेत्रका युवाहरूमा नयाँ ऊर्जा र प्रेरणा थपेको शेरबहादुर तामाङको भनाइ छ  । ‘कठिन संघर्ष, साहस र आत्मविश्वासका साथ गरिएको उनको यो उपलब्धि सम्पूर्ण नेपालीका लागि गर्वको विषय बनेको छ’, तामाङले भने । उनको सफल सगरमाथा आरोहणको अवसरमा परिवार, आफन्त, साथीभाइ तथा गाउँपालिकावासीले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर