२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

जिल्ला प्रशासन कार्यालय रौतहटमा कुलर जडान

Nada
कृष्ण तिवारी
२०८३ जेठ ११ गते २०:३७
Shares
जिल्ला प्रशासन कार्यालय रौतहटमा कुलर जडान

रौतहट : अत्याधिक गर्मीका कारण सर्वसाधारण सेवाग्राहीलाई समस्या हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कार्यालय परिसरमा ठूलो साइजको कुलर जडान गरेको छ । पछिल्लो केही सातादेखि रौतहटसहित मधेशका जिल्लामा तापक्रम निरन्तर बढ्दै गएपछि सरकारी सेवा लिन आउने नागरिकहरू घण्टौं लाइनमा बस्न बाध्य भइरहेका थिए । 

ncell

चर्को घाम र तातो हावाका कारण सेवाग्राहीहरूलाई कार्यालयमा बस्नसमेत कठिन हुन थालेपछि प्रशासनले तत्काल राहत दिने उद्देश्यले कुलर जडान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल को निर्देशनमा कार्यालय परिसरको प्रतीक्षालय क्षेत्रमा ठूलो क्षमताको कुलर जडान गरिएको प्रशासनले जनाएको छ ।

कुलर सञ्चालनमा आएपछि नागरिकहरूले गर्मीबाट राहत महसुस गर्न थालेका छन् । विशेषगरी नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस तथा अन्य प्रशासनिक सेवा लिन दैनिक सयौंको संख्यामा आउने सेवाग्राहीलाई यसले प्रत्यक्ष सहजता पुगेको छ ।

कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरूले प्रशासनको यो पहललाई सकारात्मक रूपमा लिएका छन् । अत्यधिक गर्मीका बीच पानी र चिसो हावाको व्यवस्था भएपछि लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता केही सहज भएको उनीहरूको भनाइ छ ।

मधेश प्रदेशका जिल्लाहरूमा प्रत्येक वर्ष गर्मी बढ्दै जाँदा सरकारी कार्यालयहरूमा सेवाग्राहीले सास्ती खेप्ने गरेका छन् । यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटले गरेको यो पहललाई नागरिकमैत्री तथा मानवीय कार्यको रूपमा हेरिएको छ ।

प्रशासनले आगामी दिनमा समेत सेवाप्रवाहलाई थप व्यवस्थित, सहज र नागरिकमैत्री बनाउने तयारी रहेको जनाएको छ । गर्मीको समयमा सेवाग्राहीको स्वास्थ्यमा असर नपरोस् भन्ने उद्देश्यले आवश्यकतानुसार थप व्यवस्थापन गरिने प्रशासन स्रोतले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर