
काठमाडौं : वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास गरेको तथा विभिन्न व्यक्तिबाट धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधानसम्पादक श्रेष्ठले दबाब र धम्कीपूर्ण व्यवहार सामना गर्नुपरेको जनाइएको छ ।
प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खुलाउन दबाब दिने गतिविधि भइरहेको जानकारी महासंघलाई गराएको जनाइएको छ ।
महासंघले समाचार लेखेकै आधारमा पत्रकार श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार भएको जनाएको छ । महासंघले यस्ता गतिविधिको कडा शब्दमा निन्दा गर्दै प्रेसविरोधी व्यवहार तत्काल सच्याउन सम्बन्धित पक्षसँग माग गरेको छ ।
साथै, समाचारप्रति असहमति भए कानुनी तथा संस्थागत प्रक्रियाअनुसार प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न महासंघले आग्रह गरेको छ । पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न पनि महासंघले माग गरेको छ ।
यसैबीच श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोग गर्दै धरपकडको तयारी, निगरानी, धम्की तथा मानसिक दबाब सिर्जना गरिएको भन्दै विभिन्न पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाएका छन् । प्रेस चौतारी नेपालले पनि विज्ञप्ति जारी गर्दै जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर पत्रकार श्रेष्ठलाई लक्षित गरी दबाब सिर्जना गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा गृह मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्रीको निर्देशनमा पत्रकार श्रेष्ठलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खुलाउन बाध्य पार्ने प्रयास भइरहेको भन्ने सूचना अत्यन्त आपत्तिजनक, अलोकतान्त्रिक तथा स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष प्रहार भएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा राज्य शक्तिको आडमा सञ्चारमाध्यम तथा वरिष्ठ पत्रकार श्रेष्ठविरुद्ध योजनाबद्ध दबाब, प्रतिशोध र षड्यन्त्र भइरहेको आरोप लगाउँदै यस्ता गतिविधिको घोर निन्दा तथा भत्र्सना गरिएको छ ।