
काठमाडौं : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमका बारेमा छलफल भएको छ ।
मंगलबार बसेको बैठकमा मन्त्रालयको योजना र आगामी बजेटका बारेमा छलफल भएको समिति सभापति सुम्नीमा उदासले जानकारी दिइन् ।
बैठकमा आगामी बजेट, नीति, योजना तथा कार्ययोजनाका विषयमा सांसदहरूले आ-आफ्ना धारणा राखेका थिए । छलफलका क्रममा सांसदहरूले अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्नुपर्ने, पर्यटन क्षेत्रलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने विषय उठाएको उनले जानकारी दिइन् ।
उनले भनिन्, ‘मन्त्रालयको आगामी बजेट, आगामी नीति, योजना र कार्ययोजनाका बारेमा छलफल भयो । अन्तर्राष्ट्रिय विमानस्थललाई अपडेट गर्नुपर्ने, पर्यटन क्षेत्रलाई सम्बोधन गर्नुपर्ने, संस्कृतिलाई संरक्षण गर्नुपर्ने लगायतका कुराहरू सांसदहरूले उठाउनुभयो । छलफल सामान्य थियो, सरकारलाई निर्देशन नै दिनुपर्ने खालको थिएन ।’
सभापति उदासले छलफल सामान्य प्रकृतिको रहेको उल्लेख गर्दे सरकारलाई निर्देशन दिने खालको नभएको बताइन् ।