
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीमा रहेको जानकारी दिएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख अर्यालले यस्तो स्पष्ट पारेका हुन् । बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले विपक्षी दलले उठाएका मागहरू जायज, संवैधानिक र नियमावली सम्मत रहेको उल्लेख गरे ।
उनले संसद्को अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको बताए । आगामी केही दिनमा नै नयाँ बजेट सार्वजनिक हुने समय आएकाले कार्यसूचीमा रहेका कार्यक्रमहरूलाई अगाडि बढाउन आवश्यक रहेको उनले स्पष्ट पारे ।
संसद्को कार्यतालिकालाई प्रभावित हुन नदिन र सार्वभौम सांसदहरूको जिज्ञासा सम्बोधन गर्ने वातावरण निर्माणका लागि सहयोग गर्न उनले सांसदहरूलाई विशेष आग्रह समेत गरे ।
उनले भने, ‘प्रधानमन्त्रीज्यू सदनमा भइरहेका गतिविधि र माननीय सदस्यहरूले उठाउनुभएको विषयमा पूर्ण रूपमा जानकार हुनुहुन्छ । सत्ता पक्षका मुख्य सचेतकबाट प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीज्यू सांसदहरूका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन तयारी अवस्थामा हुनुहुन्छ र उहाँ छिट्टै सदनमा उपस्थित हुनुहुनेछ ।’
विपक्षी दलहरूले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा माग गर्दै सदनमा अवरोध सिर्जना गरेपछि सभामुखले सदन सुचारु गर्न यस्तो अपिल गरेका हुन् ।