२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपाली मूलकी एन्जल भण्डारी विश्व रोबोटिक्स च्याम्पियन

Nada
२०८३ जेठ १२ गते १५:४३
Shares
नेपाली मूलकी एन्जल भण्डारी विश्व रोबोटिक्स च्याम्पियन

काठमाडौं : अमेरिकामा जन्मिएकी नेपाली मूलकी दोस्रो पुस्ताकी छात्रा एन्जल भण्डारीले विश्व रोबोटिक्स प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गर्दै विश्व च्याम्पियन बन्न सफल भएकी छन् ।

ncell

अमेरिकाको नेब्रास्का राज्यस्थित ब्राउनेल टलबोट स्कुलमा अध्ययनरत एन्जलको नेतृत्वमा रहेको टोलीले सन् २०२६ को प्रतिष्ठित ‘भेक्स रोबोटिक्स वर्ल्ड च्याम्पियनसिप’ उपाधि जितेको हो । अमेरिकाको सेन्ट लुइसमा गत अप्रिल २२ देखि २५ सम्म सम्पन्न प्रतियोगितामा विश्वभरका ७ हजारभन्दा बढी टोली सहभागी भएका थिए । तीमध्ये ४० भन्दा बढी देशका करिब ९ सय उत्कृष्ट टोली मात्रै विश्व च्याम्पियनसिपका लागि छनोट भएका थिए ।

उच्चस्तरीय प्रतिस्पर्धामा एन्जल नेतृत्वको टोलीले अपराजित २३–० को ऐतिहासिक प्रदर्शन गर्दै विश्व कीर्तिमानसहित उपाधि जितेको बताइएको छ । टोलीका सदस्यहरूले रोबोटको डिजाइन, निर्माण, कम्प्युटर प्रोग्रामिङ, परीक्षण र सञ्चालन सम्पूर्ण रूपमा आफैं गरेका थिए ।

६ सदस्यीय टोलीमा एन्जलले संयोजक, रणनीतिकार तथा सञ्चालन नेतृत्वकर्ताको भूमिका निर्वाह गरेकी थिइन् । उनले प्राविधिक सदस्यबीच समन्वय गर्नुका साथै रणनीतिक योजना, तथ्यांक विश्लेषण, इन्जिनियरिङ दस्तावेज तयारी तथा निर्णायकसमक्ष प्रस्तुतीकरणको नेतृत्वसमेत गरेकी थिइन् ।

रोबोटिक्स क्षेत्रमा मात्र नभई एन्जल ‘इन्टरनेसनल बिजनेस प्लान स्पिच एन्ड प्रेजेन्टेसन’ प्रतियोगितामा पनि १० हजारभन्दा बढी प्रतिस्पर्धीबीच अन्तिम चरणसम्म पुग्न सफल भएकी छन् । अब उनी न्युयोर्कस्थित फोर्डहम विश्वविद्यालयमा ‘ग्लोबल बिजनेस एन्ड फाइनान्स’ विषय अध्ययन गर्ने तयारीमा रहेकी छन् ।

संखुवासभाको चैनपुरबाट अमेरिका पुगेका एन्जलका पिता ज्ञानेन्द्र भण्डारी अमेरिकामा नेपाली समुदायलाई संगठित बनाउन सक्रिय व्यक्तिका रूपमा परिचित छन् । उनी नेप्लिज सोसाइटी अफ नेब्रास्काका संस्थापक तथा पूर्वअध्यक्षसमेत हुन् । ज्ञानेन्द्र र उनकी पत्नी स्मृति राना भण्डारीले सन् २००४ देखि जयपुर इन्डियन रेस्टुरेन्ट एन्ड ब्रुइङ कम्पनी सञ्चालन गर्दै आएका छन् ।

एन्जल भण्डारीको यो उपलब्धिलाई विश्वभर रहेका नेपाली–अमेरिकी समुदायका लागि गर्वको विषयका रूपमा हेरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर