
रौतहट : रौतहट देवाही गोनाही नगरपालिकाका उपप्रमुख प्रणिया देवी पटेलले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने विकास निर्माणका कार्यलाई द्रुत गतिमा अगाडि बढाइएको बताएकी छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट गरेकी हुन् ।
उपप्रमुख पटेलका अनुसार अन्य जनप्रतिनिधिको तुलनामा आफ्नो कार्यकालमा विकास निर्माणलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम अघि बढाइएको छ । उनले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रहरूलाई केन्द्रमा राखेर काम भइरहेको बताइन् ।
देवाही गोनाही नगरपालिका–८ गोनाही बजारमा संग्रहालय भवन निर्माण गरिएको उनले जानकारी दिइन् । त्यसैगरी देवाही इमालिया टोलमा विद्यालय भवन निर्माण गरिएको छ । वर्षौंदेखि भवन अभावका कारण पठनपाठनमा समस्या हुँदै आएको अवस्थामा शौचालयसहितको दुई तले भवन निर्माण भएपछि विद्यार्थीहरूलाई सहज भएको उनले बताइन् ।
नगरपालिकाको लागतमा यसअघि पर्याप्त कोठा भएका दुईवटा दुई तले भवन निर्माण भइसकेको पनि उनले जानकारी दिइन्। साथै गोनाही बजारमै नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको उनले उल्लेख गरिन् ।
पटेल चौकदेखि थारु टोल हुँदै पासवान टोलसम्म बाटो र नालाको समस्या समाधान गर्दै सयौं मिटर नाला तथा सडक ढलान गरिएको उपप्रमुख पटेलको भनाइ छ । वर्षाको पानी जम्ने, आवागमनमा बाधा पुग्ने तथा घरहरू डुबानमा पर्ने समस्या समाधानका लागि पूर्वाधार विस्तार गरिएको उनले बताइन् ।
गरिब परिवारका छोराछोरीको विवाहमा सहजता ल्याउने उद्देश्यले गोनाही बजारमा लाखौं रुपैयाँ लागतमा विवाह मण्डप भवन निर्माण गरिएको पनि उनले जानकारी दिइन् । कृषकहरूलाई लक्षित गर्दै खेतखेतमा विद्युत् तथा सिँचाइ सुविधा विस्तार गर्ने प्रयास भइरहेको उनले बताइन् ।
नगरपालिकाका सबै वडामा विद्यालय, स्वास्थ्य चौकी, मठ–मन्दिर, बाटो, नाला, सामुदायिक भवन, बर्थिङ सेन्टर तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा अघि बढाइएको उपप्रमुख पटेलको दाबी छ । दोस्रो पटक निर्वाचित भएपछि चुनावी प्रतिबद्धता अनुसार काम अघि बढाइरहेको बताउँदै उनले जनताको विश्वास अनुसार काम गर्न प्रतिबद्ध रहेको बताइन् ।
उपप्रमुख पटेलले आगामी २०८४ सम्म सबै दलको सहकार्य भए देवाही गोनाही नगरपालिकालाई नमुना र समृद्ध नगरपालिका बनाउने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।