
सिरहा : सिरहा बरियारपट्टी क्षेत्रमा रहेको छोटी भन्सार कार्यालय सरकारले हटाएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । उक्त निर्णयको विरोधमा स्थानीयवासी तथा व्यवसायीहरूले प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै मसाल जुलुस समेत निकालेका हुन् ।
विरोध प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै छोटी भन्सार पुनःस्थापना गर्न माग गरेका थिए। उनीहरूले भन्सार हटाउँदा स्थानीय व्यापार, रोजगारी तथा राजस्व संकलनमा गम्भीर असर परेको बताएका छन् ।
मंगलबार साँझको समयमा निकालिएको मसाल जुलुसमा ठूलो संख्यामा स्थानीयवासीहरूको सहभागिता रहेको थियो । प्रदर्शनकारीहरूले सरकारको निर्णय तुरुन्त फिर्ता लिन चेतावनी दिएका छन् ।
वडाध्यक्ष तथा आन्दोलन संयोजक बिनोद यादवले कडा प्रतिक्रिया दिँदै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले जनताको पक्षमा उभिने बताउँदै आवश्यक परे राजीनामा दिन तयार रहेको उल्लेख गरे । साथै, उनले भन्सार हटाइएपछि तस्करी बढ्ने सम्भावना रहेको भन्दै सम्बन्धित निकायप्रति ध्यानाकर्षण गराएका छन् ।
स्थानीय व्यापारी चन्देश्वर यादवका अनुसार भन्सार सञ्चालनका लागि १ कठ्ठा १७ धुर जग्गा स्थानीयबाट अनुदानमा उपलब्ध गराइएको थियो । उनका अनुसार उक्त भन्सारबाट मासिक ८ देखि १० लाख रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो ।
स्थानीय जिवछ साहले भन्सार हटेपछि सीमा क्षेत्रमा निगरानी कमजोर भइ तस्करी बढ्ने खतरा रहेको भन्दै सरकारलाई समयमै निर्णय सच्याउन आग्रह गरेका छन् । स्थानीय अगुवाहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।