
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले बाँदर आतंक नियन्त्रणका लागि डमी बाघ उपयोगी हुने कथा संसदमा प्रस्तुत गरेका छन् ।
बाँदर आतंकका कारण किसानले अन्नबाली जोगाउन नसकेको विषयले संसद्मा दैनिकजसो प्राथमिकता पाएपछि उनले तनहुँका एक किसानको दृष्टान्त पेस गर्दै डमी बाघको प्रयोग गरेर उक्त आतंक नियन्त्रण गर्न सकिने बताएका हुन् ।
तनहुँ शुक्ला गण्डकी ३ का किसान पहलसिंह गुरुङको सुन्तला बगानमा पुगेर १२ सय रुपैयाँमा किनेको डमी बाघले दुई सिजन सुन्तला सफलतापूर्वक जोगाएको अनुभव सांसद न्यापानेले संसदमा सुनाएका हुन् । जहाँ डमी बाघलाई सुन्तला बगानमा राख्दा पहिलो वर्ष बाँदर नआएको, दोस्रो वर्ष दैनिक उक्त डमी बाघलाई सार्नुपर्ने अवस्था आएको उल्लेख गर्दै दुई वर्षसम्म बाँदरबाट सुन्तला जोगाउन सफल भएको थियो ।
सांसद न्यौपानेले डमी बाघलाई प्रविधि जोडेर व्यवस्थापन गर्नसके कुनैपनि अन्नवाली जोगाउन सकिने भन्दै सो उपाय अवलम्बन हुनेगरी सरकारले डमी बाघ प्रणाली जडान गर्नुपर्ने बताए । उनले सरकारलाई तत्काल राष्ट्रिय बाँदर व्यवस्थापन नीति ल्याउन र प्रभावित क्षेत्रलाई विशेष बाँदर सुरक्षा क्षेत्र घोषणा गर्न पनि माग गरे ।
सांसद न्यौपानेले सरकारले भारतलगायतका अन्य मुलुकको अनुभवलाई समेत ध्यानमा राखेर बाँदरको बन्ध्याकरण गर्न पनि सुझाव दिए ।