
काठमाडौँ : नेपालमा आर्थिक वर्ष २०८१-८२ सम्म सञ्चालनमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा संस्थान नाफामा रहेको तथ्य सार्वजनिक गरिएको छ ।
आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार बाँकी संस्थानमध्ये १६ वटा घाटामा सञ्चालन भइरहेका छन् भने २ वटा संस्थान हाल बन्द अवस्थामा रहेका छन् । अघिल्लो आर्थिक वर्षमा २८ संस्थान नाफामा, १५ घाटामा तथा २ बन्द अवस्थामा रहेका थिए ।
सार्वजनिक संस्थानहरूको वित्तीय संरचनाबारे दिइएको विवरण अनुसार २०८२ असारसम्म नेपाल सरकारको कुल सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ रहेको उल्लेख छ ।
यसरी सेयर तथा ऋण दुवै समेट्दा सार्वजनिक संस्थानमा सरकारी कुल लगानी करिब ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।