२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सहकारी क्षेत्रमा सदस्य संख्या एक करोड नाघ्यो, बचत परिचालन १० खर्बभन्दा बढी

Nada
२०८३ जेठ १३ गते १६:०१
Shares
सहकारी क्षेत्रमा सदस्य संख्या एक करोड नाघ्यो, बचत परिचालन १० खर्बभन्दा बढी

काठमाडौँ : नेपालका सहकारी संस्थामा आबद्ध सदस्यको संख्या एक करोड नाघेको छ । आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सहकारी क्षेत्रका शेयर सदस्य संख्या १ करोड १ लाख ६० हजार ९६३ पुगेको छ ।

ncell

सर्वेक्षणले सहकारी क्षेत्रको कुल शेयर पुँजी १ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँ पुगेको उल्लेख गरेको छ । यस अवधिसम्म देशभर सञ्चालनमा रहेका सहकारी संस्थाको संख्या ३२ हजार ३२५ पुगेको छ ।

१० खर्बभन्दा बढी बचत परिचालन
फागुन २०८२ सम्म सहकारी क्षेत्रमार्फत १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ भने ९ खर्ब ५ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सहकारी क्षेत्रले रोजगारी सिर्जनामा पनि योगदान पुर्‍याएको देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म यस क्षेत्रमा प्रत्यक्ष रूपमा ८२ हजार २१६ जनाले रोजगारी प्राप्त गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।

सूचना प्रणालीमा सहकारी आबद्धता बढ्दो
सहकारीसम्बन्धी एकीकृत तथ्यांक व्यवस्थापनका लागि सञ्चालन गरिएको ‘सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली’ मा आबद्ध संस्थाको संख्या पनि बढेको छ । २०८१ असारसम्म १८ हजार ८९७ संस्था आबद्ध रहेकोमा २०८२ फागुनसम्म यो संख्या बढेर १९ हजार ९०३ पुगेको छ ।

नियमन र मापदण्ड कार्यान्वयन
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजत पत्र प्रदान गरेको छ । साथै बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि दर्ता, अभिलेखीकरण तथा नियामकीय मापदण्डसम्बन्धी व्यवस्था पनि लागू गरिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन जारी
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार समस्याग्रस्त घोषणा गरिएका २३ संस्थामध्ये ३ संस्थाको व्यवस्थापन प्रक्रिया टुंगिएको छ भने बाँकी २० संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी प्रक्रिया अझै जारी रहेको छ ।

सर्वेक्षणअनुसार हालसम्म विभिन्न चरणमा ८० हजार ८७ जना दाबीकर्ताले कुल ४७ अर्ब ६० करोड १३ लाख रुपैयाँ बराबरको मागदाबी दर्ता गराएका छन् । तीमध्ये यस अवधिमा ३ हजार ६८८ जना दाबीकर्तालाई पूर्ण रूपमा २ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरिएको उल्लेख गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर