२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस

Nada
२०८३ जेठ १३ गते १६:४५
Shares
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई फौजदारी अपराधको रूपमा व्याख्या गर्दै उनीमाथि सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ ।

ncell

आयोगले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार, २०८२ भदौ २४ गते देशभर कर्फ्यू लगाइएको अवस्थामा ललितपुरको नख्खु कारागारमा थुनामा रहेका लामिछानेलाई छोडाउन रास्वपाका नेता तथा तत्कालीन सांसदहरू मनिष झा र हरि ढकालसहितको ठुलो भिडले कारागार घेरेको थियो । सोही भिडको दबाब र सुरक्षाको कारण देखाउँदै लामिछाने कारागारबाट बाहिरिएका थिए ।

यस घटनाबारे आयोगले गरेको सोधपुछमा लामिछाने र कारागार प्रशासनको बयान बाझिएको छ । नख्खु कारागारका जेलर सत्यराज जोशीले लामिछानेका सहयोगी र समर्थकको दबाब, डर र धम्कीका कारण आफूले बाध्य भएर लामिछानेलाई छोड्ने पत्रमा हस्ताक्षर गरेको बताएका छन् । यता, रवि लामिछानेले भने जेलरले नै आफूलाई बोलाएर 'तपाईं बाहिर गए जेलको सुरक्षा हुन्छ' भनी छोडेको दाबी गरेका छन् । आयोगले यी दुवै बयान एक-आपसमा बाझिएको र लामिछाने कारागारबाट बाहिरिनु कारागार ऐन, २०७९ को दफा ४९ विपरीतको कसुर भएको ठहर गरेको छ ।

लामिछाने बाहिरिएपछि देशभर दंगा र मृत्यु प्रतिवेदनका अनुसार रवि लामिछाने कारागारबाट बाहिरिएको खबर सार्वजनिक भएलगत्तै 'रवि लामिछाने निस्कन हुने, अरू किन नहुने' भन्ने भाष्य निर्माण भई देशभरका कारागार र बाल सुधार केन्द्रहरूमा दंगा फैलिएको प्रतिवेदनमा उल्लेख छ । सोही क्रममा देशभरका २८ वटा कारागारबाट १३,५८५ कैदीबन्दी र ९७४ जना बाल बिज्याइँकर्ताहरू फरार भएका थिए । कारागार तोडेर भाग्ने क्रममा सुरक्षाकर्मीको गोली लागि बाँकेको नौबस्ता बाल सुधार केन्द्र, रामेछाप र धादिङ कारागारमा गरी १० जनाको मृत्यु भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले यो घटनालाई गम्भीरतापूर्वक लिँदै निम्न व्यक्तिहरूलाई शंकाको घेरामा राखी सूक्ष्म अनुसन्धान र कानुनी कारबाही गर्न सिफारिस गरेको छ । रवि लामिछानेलाई अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको र मानव अधिकार उल्लंघन हुने कार्यमा संलग्नता देखिएकोमा कारबाही सिफारिस गरिएको छ । तत्कालीन जेलर सत्यराज जोशीलाई कानुनी प्रक्रिया मिचेर लामिछानेलाई छोडेकोमा कारबाही सिफारिस गरिएको छ ।

यस्तै मनिष झा र हरि ढकाललाई भिडसहित कारागार घेरेर दबाब दिएको र परिस्थिति उत्तेजित बनाएकोमा कारबाही सिफारिस गरिएको छ ।

आयोगले लामिछानेको यस कार्यले नागरिकको शान्तिपूर्ण रूपमा बाँच्न पाउने अधिकार र अपराध पीडितको हक हनन भएको समेत जनाएको छ । यस्तो गम्भीर मानव अधिकार उल्लंघनको घटनामा संलग्न देखिएकाले लामिछाने लगायतलाई फौजदारी कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर