
काठमाडौं : पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत भइरहेका केही गतिविधिप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा सञ्चार क्षेत्रलाई स्वतन्त्र, विश्वसनीय र मर्यादित बनाउन पत्रकार आचारसंहिताको पालना अनिवार्य रहेको उल्लेख गरिएको छ ।
काउन्सिलका अनुसार पत्रकार आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी तथा जनगुनासो बढ्दै गएका छन् । प्राप्त उजुरीमाथि आचारसंहिताले तोकेको प्रक्रियाअनुसार अनुगमन र कारबाही भइरहेको पनि काउन्सिलले जनाएको छ ।
विज्ञप्तिमा केही अनलाइन न्युज पोर्टल दर्ता गरेर नियमित सामग्री प्रकाशन नगर्ने, तर सामाजिक सञ्जाल, युट्युब च्यानल, फेसबुक पेज तथा रिलमार्फत भ्यु बढाउने उद्देश्यले अपुष्ट र भ्रामक सामग्री प्रसारण गर्ने प्रवृत्ति बढेको उल्लेख छ ।
त्यस्तै, अनुमतिबिना अस्पताल, विद्यालय तथा सरकारी कार्यालयजस्ता सार्वजनिक निकायमा प्रवेश गरी अमर्यादित व्यवहार गर्ने, बालबालिकासँग अभिभावक वा विद्यालय प्रशासनको अनुमति बिना अन्तर्वार्ता लिएर भिडियो सार्वजनिक गर्ने तथा सञ्चारकर्मीमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज, धम्की र धरपकडको प्रयास गर्ने गतिविधिप्रति पनि काउन्सिलले चासो व्यक्त गरेको छ ।
काउन्सिलले तथ्यहीन तथा अपुष्ट सामग्री सम्प्रेषण गरी व्यक्तिको चरित्र, गोपनीयता र व्यावसायिक साखमा असर पुग्ने काम नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । कुनै पनि सामग्री प्रकाशन वा प्रसारणअघि त्यसको तथ्य र विश्वसनीयताको परीक्षण गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
विज्ञप्तिमा केही सञ्चारकर्मीले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा क्यामरा लिएर पुग्ने, कार्यालय प्रमुख वा कर्मचारीमाथि दबाब सिर्जना गर्ने शैलीमा प्रश्न गर्ने, अन्त्यमा सन्देशमूलक सूचना भन्दै बिल छाड्ने तथा पूर्वसम्झौता बिना आफैं सम्झौताको मस्यौदा तयार गरेर कार्यालयमा बुझाउनेजस्ता गतिविधि पेसागत आचरणविपरीत भएको उल्लेख गरिएको छ ।
सीमावर्ती जिल्लामा विदेशी मिडिया तथा पत्रकारले अनुमति बिना सञ्चारकर्म गरिरहेको र नेपाल सरकार तथा कानुनविरुद्ध भ्रामक सामग्री प्रसारण भइरहेको विषयमा पनि काउन्सिलले ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले सत्य, तथ्य र सन्तुलनको परीक्षण नगरी पत्रकारले पत्रकारकै विरुद्ध सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत अभिव्यक्ति दिनु पनि अनुचित भएको उल्लेख गर्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।
साथै, सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्री गलत वा तथ्यहीन लागेको खण्डमा सम्बन्धित व्यक्ति वा संस्थाले काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको जनाइएको छ । समाचार लेखेकै आधारमा पत्रकार वा सञ्चारमाध्यममाथि गालीगलौज, मानमर्दन, धम्की वा धरपकडको प्रयास गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविपरीत हुने काउन्सिलको भनाइ छ ।
