२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

महिनावारी स्वच्छता दिवसमा ललितपुरमा बृहत् साइकल र्‍याली, मुद्दा संसदमा उठाउने प्रतिबद्धता

Nada
२०८३ जेठ १४ गते १३:३६
Shares
महिनावारी स्वच्छता दिवसमा ललितपुरमा बृहत् साइकल र्‍याली, मुद्दा संसदमा उठाउने प्रतिबद्धता

ललितपुर : अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा ललितपुरमा बृहत् साइकल र्‍याली आयोजना गरिएको छ । महिनावारी सुरक्षा र स्वच्छताका क्षेत्रमा क्रियाशील संस्था एक्स-पोज नेपाल को पहलमा आयोजित र्‍यालीमा सयौं सहभागी जुटेका छन् ।

ncell

मंगलबजारबाट सुरु भएको र्‍याली काठमाडौंको बसन्तपुर पुगेर पुनः मंगलबजारमै फर्किएर सम्पन्न भएको थियो । आयोजकका अनुसार करिब ४५० जना सहभागीमध्ये करिब ८० प्रतिशत महिला रहेका थिए । नौ वर्षअघि पहिलोपटक आयोजना गरिएको र्‍यालीमा जम्मा ७२ जना सहभागीमध्ये एक जना मात्रै महिला रहेको स्मरण गर्दै यसपटक महिला सहभागिता उल्लेख्य रूपमा बढेको जनाइएको छ ।

कार्यक्रमका क्रममा एक्स-पोज नेपालका अध्यक्ष तथा ‘प्याड म्यान’का रूपमा परिचित ज्ञान महर्जनले सुरक्षित महिनावारी सुनिश्चित गर्न सरकारले विशेष गरी सीमान्तकृत समुदायलाई लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कृष्णाकुमारी वाइबाले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई मर्यादित र सुरक्षित बनाउने दायित्व राज्यको रहेको बताइन् । उनले स्थानीयदेखि संघीय तहसम्म समन्वित प्रयास आवश्यक रहेको उल्लेख गरिन् ।

समापन समारोहमा प्रतिनिधि सभा सदस्य प्रभा ढकालले महिनावारीसम्बन्धी सोचमा क्रमशः सकारात्मक परिवर्तन आएको बताइन् । परिवारका पुरुष सदस्यहरूको साथ बढ्दै गएको उल्लेख गर्दै उनले पहिले लुकाएर स्यानिटरी प्याड किन्नुपर्ने अवस्थाबाट अहिले खुला रूपमा खरिद गर्न सकिने अवस्था बनेको धारणा राखिन् ।

ज्ञापनपत्र बुझ्दै सांसद ढकालले महिनावारी स्वच्छतासम्बन्धी विषयलाई संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस्तै, ग्लोबल एक्सन नेपालका अध्यक्ष विके श्रेष्ठले लामो समयदेखि महिनावारी स्वास्थ्य र महिला हिंसाविरुद्ध पैरवी हुँदै आएको बताउँदै ज्ञापनपत्रमा समेटिएका मागहरू कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए ।

र्‍यालीलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग रहेको थियो । कार्यक्रमको सञ्चालन नवीना श्रेष्ठले गरेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर