२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पाँचथरको च्याङथापूका २६ घर पहिरोको उच्च जोखिममा

Nada
२०८३ जेठ १४ गते १४:११
Shares
पाँचथरको च्याङथापूका २६ घर पहिरोको उच्च जोखिममा

पाँचथर : याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका २६ घर उच्च जोखिममा रहेका पाइएको छ ।

ncell

याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार पहिरोका कारण साविक च्याङथापू गाविसका छ वडा प्रभावित भएका छन् । यहाँका ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङडाँडा, एकराते, खोलाघारी र सुन्दरपुर टोल पहिरोबाट प्रभावित भएका हुन् । जहाँ २६ घर उच्च जोखिममा रहेका र करिब ७० घर पहिरोको जोखिममा रहेको पाइएको वडाध्यक्ष खालिङले जानकारी दिए ।

पहिरो झरेर चाम्लिङडाँडाका महमलाल खवास र कविरमान खवासको तथा कोप्चेको गङ्गाराम बेघाको घर बगाएको थियो। अन्य घरहरू नबगाए पनि जोखिमपूर्ण अवस्थामा रहेको खालिङको भनाइ छ । ‘कसैको घरमाथि पहिरो छ त कसैको घरमुनिबाट पहिरो गएको थियो’, उनले भने, ‘पानी पर्‍यो कि सबै जना त्राहिमाम हुने अवस्था छ, सुरक्षित स्थानतर्फ भाग्नुपर्ने स्थिति रहेको छ। यहाँ बाढीपहिरोले मानवीय क्षति नभए पनि पशुचौपाया बगाएको, खेतीयोग्य जमिन र अलैँची बगानमा क्षति पुगेको छ ।’

च्याङथापूमा तीन वर्षअघि पनि भीषण वर्षापछि पहिरो गएको थियो। विसं २०८० असार ३ मा यहाँको मेवाखोलासहितका खोलामा बाढी आउनुका साथै धेरै स्थानमा पहिरो गएको थियो । त्यसबेला यहाँको चोक, खोलाघारी, एकरातेलगायत टोल प्रभावित भएका थिए, तर तीन वर्षपछि पहिलेभन्दा ठूलो वर्षा भएको र बाढी पहिरो गएको थियो। वडाध्यक्ष खालिङले भने, ‘तीन वर्षअघि जसरी पहिरोले धुजाधुजा पारेको थियो, हाल त्यस्तै अवस्था आएको छ। हामीलाई प्रकृतिले पीडामाथि पीडा दिइरहेको छ ।’

जिल्ला समन्वय समितिका पूर्वसदस्य नरबहादुर गुरुङ पहिरो प्रभावित क्षेत्रमा त्रासको अवस्था रहेको बताउँछन्। ‘बादल लाग्यो कि दिउँसै पनि भाग्ने अवस्था छ। यहाँ जताततै पहिरो गएको छ। बाढीले खोला किनारका सबै संरचना बगाएको छ’, उनले भने ।  
 

ताजा खबर

सम्बन्धित खबर