२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बकर इदको अवसरमा नेपाल मुस्लिम शान्ति समाजद्वारा कतारमा शुभकामना आदानप्रदान

Nada
तिलु शर्मा पौडेल
२०८३ जेठ १४ गते २१:४३
Shares
बकर इदको अवसरमा नेपाल मुस्लिम शान्ति समाजद्वारा कतारमा शुभकामना आदानप्रदान

दोहा : नेपाल मुस्लिम शान्ति समाज (शाखा रौतहट, टिम कतार) को आयोजनामा मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को पावन अवसरमा कतारमा बृहत् शुभकामना आदानप्रदान तथा संस्था विस्तार कार्यक्रम सम्पन्न भएको छ ।

ncell

सन् २०२३ मा स्थापना भई छोटो समयमै प्रवासमा रहेका नेपाली मुस्लिम तथा गैर–मुस्लिम समुदायबीच सामाजिक, सांस्कृतिक र धार्मिक सद्भाव अभिवृद्धि गर्न सक्रिय रहेको यस संस्थाले इदको अवसर पारेर विशेष समारोह सम्पन्न गरेको हो ।

समाजको कतार शाखाका संयोजक शेख मेराजको सभाध्यक्षता तथा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पन्थीले धर्म भनेको एउटा माध्यम मात्र भएको विचार व्यक्त गरे । 

उनले सम्पूर्ण धर्महरूले असहायलाई सहयोग गर्न, कसैमाथि अत्याचार र अन्याय नगर्न तथा समाजमा शान्ति फैलाउन नै सिकाउने स्पष्ट पारे । 

आफ्नो अनुभव साट्दै अध्यक्ष पन्थीले भने, ‘मैले कुरान, बाइबल, गीता लगायतका विभिन्न धर्मका पवित्र ग्रन्थहरू पढ्ने र अध्ययन गर्ने गरेको छु । मेरो अध्ययन र बुझाइमा कुनै पनि धर्मले कसैमाथि पनि हिंसा गर्न सिकाउँदैन । त्यसैले तराई लगायतका क्षेत्रमा फाटफुट देखिने धार्मिक हिंसाहरू पूर्णतः गलत हुन् । धर्म आफैँमा कहिल्यै गलत हुँदैन, तर धर्मलाई अंगीकार गर्ने केही व्यक्तिहरू गलत हुन सक्छन् ।’ 

समारोहलाई विभिन्न मुस्लिम धर्मगुरुहरूले समेत सम्बोधन गर्दै इद–उल–अज्हाको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा बोल्ने वक्ताहरूले नेपाल बहु जातीय र बहुभाषिक मुलुक भएकाले यहाँ सबै जातजाति र धर्मलाई उत्तिकै सम्मान गर्दै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

वक्ताहरूले ’नेपाल मुस्लिम शान्ति समाज’ को नाममा नै सिंगो देशको राष्ट्रियता र शान्तिको भावना जोडिएकाले यसलाई मुस्लिम समुदायको मात्र संस्थाका रूपमा हेर्न नहुने तर्क गरे । यस संस्थाले सबै धर्म र समुदायलाई समेटेर राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि काम गरिरहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रमका अवसरमा समाज कतार शाखा गठन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने र पहल गर्ने विभिन्न सामाजिक व्यक्तित्वहरू, धर्मगुरुहरू, पत्रकारहरू तथा नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई प्रमुख अतिथिको हातबाट सम्मान गरिएको थियो ।

शुभकामना आदानप्रदानसँगै संस्थाको उद्देश्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन कतार शाखाको नयाँ कार्यसमिति समेत विस्तार गरिएको छ । जसअन्तर्गत वर्तमान सभाध्यक्ष शेख मेराजकै अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

कार्यक्रम समापनका क्रममा सभाध्यक्ष मेराजले संस्थाले कतारमा मात्र नभई नेपालका विभिन्न जिल्लाहरूमा समेत पु¥याएको मानवीय र सामाजिक सहयोगबारे चर्चा गरेका थिए । 
नेपालका विभिन्न स्थानमा अति आवश्यक परेका विपन्न तथा असहाय नागरिकहरूलाई संस्थाले प्रत्यक्ष सहयोग गरिसकेको उल्लेख गर्दै उनले समाजले मानवीय आवश्यकताका हरेक पक्षमा ध्यान दिँदै आएको स्पष्ट पारे । 

कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न पार्न सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरू, सञ्चारकर्मी तथा उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गरे ।  

कार्यक्रममा मधेस प्रदेश समन्वय परिषद् कतारका निवर्तमान अध्यक्ष नियाज शेखले सहजकर्ताको भूमिका निभाउँदै कार्यक्रमलाई व्यवस्थित रूपमा अगाडि बढाएका थिए । उपस्थित महानुभावहरूलाई अब्दुल अजिजले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए  भने सईदरहमानले पवित्र कुरानको पद (तिलावत) वाचन गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रम बुधवार सॉझ प्लाजा मलमा रहेको सी रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो।

ताजा खबर

सम्बन्धित खबर