
काठमाडौं : हाइकु तथा सेन्यु विधाका स्रष्टा प्रदीप केसी (सञ्जेल) को नयाँ कृति ‘तृषित मन’ हाइकु÷सेन्यु संग्रह सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
६६ वर्षीय केसीले हाइकु र सेन्यु गरी ९ सय ५८ वटा रचना समेटेर ‘तृषित मन’ प्रकाशनमा ल्याएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य, वरिष्ठ समालोचक तथा कवि डा.मधुसूदन गिरीले कृतिको लोकार्पण गर्दै हाइकु र सेन्युलाई सरल, सहज र जीवनसँग जोडेर रचना गर्नुपर्नेमा जोड दिए ।
उनले हाइकु प्रकृतिलाई हेर्ने जीवनदर्शन भएकाले यसमा नेपाली मौलिकता, माटो र समाजको सुगन्ध झल्किनुपर्ने बताए । प्रदीप केसीका हाइकु तथा सेन्युमा समाजका विविध पक्ष समेटिनु कृतिको महत्वपूर्ण विशेषता रहेको उनको भनाइ थियो ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाल हाइकु संघका केन्द्रीय अध्यक्ष चेतनाथ धमलाले हाइकु र सेन्युको संरचना, सिर्जनशीलता तथा प्रदीप केसीको रचनाधर्मिताबारे प्रकाश पारेका थिए । उनले लघुतम साहित्यिक विधाका रूपमा हाइकु र सेन्युको बढ्दो लोकप्रियताले नेपाली साहित्यलाई समृद्ध बनाएको बताए ।
कार्यक्रममा नेपालभाषाका हाइकुकवि सुधीर ख्वबी, प्रलेसका केन्द्रीय पार्षद सृजना सरोवर तथा पूर्व बिगेडियर जनरल रामचन्द्र खत्रीले कृतिका लागि शुभकामना व्यक्त गरेका थिए ।
कृतिकार प्रदीप केसीले आफूले प्रकृति, धार्मिक तथा सांस्कृतिक पक्षलाई आत्मसात् गर्दै रचनाहरू सिर्जना गरेको बताए । कार्यक्रममा उनलाई शुभेच्छुकहरूले सम्मानसमेत गरेका थिए ।
मानव अधिकार तथा एकल महिला समूहकी केन्द्रीय सदस्य प्रतिभा विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वयम्भू कारखानाचोकस्थित क्वालिटी दरबार रेस्टुरेन्टमा आयोजित गरिएको थियो । ऐरावती प्रकाशनद्वारा आयोजित कार्यक्रमको सञ्चालन प्रकाशनका अध्यक्ष तथा कवि रामदेव पाण्डेले गरेका थिए ।