
काठमाडौं : मेरुदण्ड र ढाड दुखाइको समस्या आधुनिक जीवनशैलीका कारण जटिल बन्दै गएको सन्दर्भमा अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेजले कार्यक्रम आयोजना गरेको छ । ‘इन्टर्भेन्सनल पेन व्यवस्थापन’ विषयक उक्त निरन्तर चिकित्सा शिक्षा कार्यक्रममा विशेषज्ञहरूले बिना शल्यक्रिया दुखाइ कम गर्ने विभिन्न आधुनिक विधिहरूमा केन्द्रित रहेर छलफल गरिएको थियो ।
कार्यक्रममा मेरुदण्ड र ढाड दुखाइको आधुनिक उपचार, एक्युपन्चर तथा फिजियोथेरापी जस्ता विधिहरूबाट गरिने व्यवस्थापनका बारेमा विस्तृत चर्चा गरिएको थियो ।
यसै क्रममा अस्पतालमा डा. तीर्थराज भण्डारीको नेतृत्वमा विभिन्न प्रकारका दुखाइहरूको बिना शल्यक्रिया सफल उपचार भइरहेको र यसले बिरामीहरूलाई ठूलो राहत मिलेको बताइएको थियो ।
यस्तै दुखाइको विज्ञान र समाधानका उपाय बारे विभिन्न डाक्रटहरुले आफ्नो सुझाव पेश गरेका थिए । डा. सौजन्य राजभण्डारीले ढाडको तल्लो भाग दुखाइको भौतिक कारण, डा. जया सात्यालले ढाड दुखाइ कम गर्न एक्युपन्चरको प्रभावकारिता, डा. नबिन सापकोटाले फिजियोथेरापिस्टको दृष्टिकोणबाट ढाड दुखाइ र डा. तीर्थराज भण्डारीले मेरुदण्डको लागि इन्टर्भेन्सनल पेन व्यवस्थापनका आधुनिक विधि बिषयमा छलफल गरेका थिए ।
कार्यक्रममा वरिष्ठ न्यूरोसर्जन डा. बसन्त पन्तले ‘नो ब्रेन, नो पेन’ विषयमा दुखाइ र मस्तिष्कको सम्बन्धबारेमा चर्चा गरेका थिए । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका चिकित्सक एवं स्वास्थ्यकर्मीहरूका सहभागिता रहेको उक्त कार्यक्रममा मेरुदण्डका दीर्घकालीन समस्याहरूलाई समयमै पहिचान गरी आधुनिक विधिबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको थियो । ढाड दुखाइ तथा मेरुदण्डसम्बन्धी समस्याको समयमै पहिचान र आधुनिक व्यवस्थापनमा महत्वपूर्ण जानकारी आदान–प्रदान भएको आयोजकले जनाएको छ ।