२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने उपविदेशमन्त्री रोजर्सको प्रतिबद्धता

Nada
२०८३ जेठ १७ गते १२:१३
Shares
नेपालको साहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने उपविदेशमन्त्री रोजर्सको प्रतिबद्धता

काठमाडौं : अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैं सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

ncell

काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’लाई सम्बोधन गर्दै उनले दुई देशबीचको ७९ वर्ष लामो कुटनीतिक सम्बन्ध र पर्वतारोहणको विषय ऐतिहासिक कडी भएको बताएकी हुन् ।

उपविदेशमन्त्री रोजर्सले अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औं वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको शाहस र कौतुहलता रहेको बताइन् । अमेरिकाको जग नै अन्वेषण र जोखिम मोल्ने साहसले बनेको बताउँदै उनले यही भावनाले अमेरिकीहरूलाई नेपालका हिमालहरूसम्म डोहोर्‍याउने गरेको उल्लेख गरिन् ।

सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको उल्लेख गरिन् । उनकाअनुसार यस वर्ष मात्र ६७ जना अमेरिकीले सगरमाथा आरोहणको प्रयास गरेका छन् । 

उपविदेशमन्त्री रोजर्सले नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति रहेको बताइन् । सन् २०२३ मा नेपाल भ्रमण गर्ने ११ लाख ५० हजार अन्तर्राष्ट्रिय पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी नागरिक रहेका थिए । जसले अमेरिकालाई नेपालको दोस्रो ठुलो पर्यटकीय स्रोत बजार बनाएको छ । अमेरिकी पर्यटकहरूको आगमनले नेपालका पथप्रदर्शक, होटल र स्थानीय समुदायको आर्थिक उत्थानमा प्रत्यक्ष सहयोग पुगेको उनको भनाइ छ । 

शिखर सम्मेलनमा बोल्दै रोजर्सले पर्वतारोहण अब केवल हिमाल चढ्ने कुरामा मात्र सिमित नरही यसमा प्रविधि र सुरक्षाको भुमिका महत्वपूर्ण भएको बताइन् ।

नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण सुरक्षित र सफल हुने विश्वास उनले व्यक्त गरिन् । नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी र प्रविधि हस्तान्तरण जारी रहने उल्लेख गर्दै उनले नेपाललाई एक भरपर्दो साझेदारको रूपमा साथ दिने पुनः प्रतिबद्धता जनाइन् ।

ताजा खबर

सम्बन्धित खबर