
काठमाडौं : नेपाल–भारत सीमा विवादबारे प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिमाथि पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।
नेकपा एमालेका नेता समेत रहेका ज्ञवालीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीको भनाइलाई ‘आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य’ बताएका छन् । उनले प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट दिएको उक्त अभिव्यक्ति तत्काल फिर्ता लिनुका साथै सार्वजनिक रूपमा क्षमा माग्नुपर्ने माग गरेका छन् ।
उनले भनेका छन्, ‘……नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ- संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको यो विषय आपत्तिजनक, सन्देहास्पद र भर्त्सनायोग्य छ । यो अभिव्यक्ति तत्काल फिर्ता लिइयोस् र सार्वजनिक रूपमा क्षमा मागियोस् ।’
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने बताएका थिए । सोही क्रममा उनले आफू प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतका केही भूभाग अतिक्रमण गरेको जानकारी पाएको दाबी गरेका थिए ।
प्रधानमन्त्री शाहले सीमा सम्बन्धी समस्या दुवै देशबीच आपसी छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।