
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अन्ततः फुटेको छ । लामो अन्तर्संघर्ष र विवादका बीच पार्टीका महामन्त्री डा.धवलशम्शेर राणाले पार्टी परित्याग गर्दै नयाँ पार्टी निर्माणको बाटो तय गरेका हुन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै नयाँ राष्ट्रवादी शक्ति निर्माणमा जुट्ने घोषणा गरे ।
‘समयको पदचाप र जनभावनाअनुरूप अघि बढ्न देश–विदेशमा रहनुहुने नेपालीहरूको सुझाव र शुभेच्छाहरू प्राप्त भएको छ,’ उनले भनेका छन् । राप्रपालाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गरेको, तर नसकेको राणाको भनाइ छ ।
विज्ञप्तिमार्फत सबै पक्षलाई आफ्नो अभियानमा सहभागी हुन आह्वान गर्दै उनले भनेका छन्, ‘विरोधाभाष र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने/हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो । राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन भने एकजुट भएर अघि बढ्न सबैसामु आह्वान गर्छु ।’
शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय सल्लाहबमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको उनले बताए । राणाले मध्यान्हसँग भने, ‘हामी नयाँ सोचका साथ नयाँ अभियानमा जुटेका छौं । साथीहरूबीच व्यापक छलफल भइरहेकाले केही दिनमा हामी निष्कर्षमा पुग्छौं ।’
आफ्नो अभियानमा सहभागी हुन समस्त राष्ट्रवादी र नवयुवालाई आह्वान गरेकाले जेठ २१ गतेपछि आफ्नो अभियानका बारेमा सार्वजनिक गर्ने उनले बताए । ‘हामी अहिले छलफलमै रहेकाले २१ गतेपछि नयाँ अभियानलाई सार्वजनिक गर्छौं । पार्टी बनाएर जाने नै हो, के र कसरी भन्ने टुंगो लागिसकेको छैन ।’
चार वर्षअघि भएको महाधिवेशनमा कमल थापालाई छाडेर राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री बनेका राणा पछिल्लो एक वर्षयता अध्यक्ष लिङ्देनसँग रुष्ट थिए । राणा २०८१ चैत्रमा तीनकुनेमा भएको राजावादी आन्दोलनमा सहभागी भएपछि अध्यक्ष लिङ्देनले स्पष्टीकरण सोधेका थिए । उक्त आन्दोलन हिंसात्मक बनेपछि दुईजना युवाको ज्यान गएको थियो भने करोडौंको सम्पत्ति क्षति भएको थियो ।
हिंसात्मक आन्दोलनको नेतृत्व गरेको भन्दै राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणामाथि मुद्दा चलेको थियो । त्यस घटनामा राप्रपाले राणा र मिश्रप्रति कुनै सहानुभूतिसमेत नराखेको भन्दै उनीहरू पक्षका कार्यकर्ताले अध्यक्ष लिङ्देनसहितका नेताहरूको विरोध गरेका थिए । त्यसयता राप्रपाभित्र थपिँदै गएको संकटकै कारण आजको स्थिति आएको राप्रपाका नेताहरूले बताएका छन् ।
राप्रपाका तीनजना पूर्वअध्यक्षहरूले भने पार्टीको भविष्य उज्ज्वल रहेको भन्दै कार्यकर्तालाई पार्टी नछाड्न र कुनै पनि आत्मघाती कदम नचाल्न आग्रह गरेका छन् । पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले वर्तमान परिस्थितिबाट विचलित नहुन र पार्टी संगठन निर्माणमा एकजुट भएर लाग्न आह्वान गरेका हुन् ।
बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि २०४७ साल जेठ १५ गते राप्रपा स्थापना हो । पार्टीले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा भूमिका निर्वाह गर्दै आएको भन्दै उनीहरूले विगतमा पार्टी छाडेर जानेको हालत स्मरण गर्न आग्रह गरेका छन् ।