२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

महासंघ ललितपुरका सदस्यको स्वास्थ्य परीक्षण

Nada
२०८३ जेठ १८ गते ११:५०
Shares
महासंघ ललितपुरका सदस्यको स्वास्थ्य परीक्षण

ललितपुर : नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औं वार्षिक साधारण सभाको अवसरमा शनिबार आयोजित स्वास्थ्य परीक्षण शिविरमा सहभागी पत्रकार तथा सञ्चारकर्मीमध्ये ४९ जनामा मोटोपनाको जोखिम देखिएको छ ।

ncell

महासंघ ललितपुर शाखाको समन्वय तथा जनस्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा सञ्चालन गरिएको नसर्ने रोग (एनसिडी) परीक्षण शिविरमा ११४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षणका क्रममा सहभागीमध्ये उल्लेख्य सङ्ख्यामा नसर्ने रोगका जोखिम कारकहरू फेला परेका छन् ।

जनस्वास्थ्य कार्यालय ललितपुरका ल्याब टेक्निसियन निरीक्षक श्रीभद्र शर्माका अनुसार परीक्षण गरिएकामध्ये ४९ जनाको बडी मास इन्डेक्स (बिएमआई) २५ भन्दा माथि रहेको पाइएको छ, जसले उनीहरूमा मोटोपनाको जोखिम रहेको संकेत गर्छ । मोटोपना उच्च रक्तचाप, मधुमेह, मुटुरोग तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्याको प्रमुख जोखिम कारकका रूपमा लिइन्छ ।

त्यसैगरी, स्वास्थ्य परीक्षणका क्रममा ८ जनामा उच्च रक्तचाप (ब्लड प्रेसर) को समस्या देखिएको छ भने १२ जनामा रगतमा चिनीको मात्रा (ब्लड सुगर) उच्च रहेको पाइएको छ । यस्तै, ७ जनाको पिसाब परीक्षणमा सुगर देखिएको तथा ८ जनामा युरिन एल्बुमिनको मात्रा सामान्यभन्दा बढी फेला परेको शर्माले जानकारी दिए । युरिन एल्बुमिन देखिनु मिर्गौलासम्बन्धी समस्याको प्रारम्भिक संकेत हुन सक्ने भएकाले थप परीक्षण र उपचार आवश्यक पर्ने चिकित्सकहरूले बताए  ।

स्वास्थ्य परीक्षणका क्रममा सहभागीहरूको रक्तचाप, रक्तमा चिनीको मात्रा, पिसाब परीक्षण तथा शरीरको तौल र उचाइका आधारमा बीएमआई मापन गरिएको थियो । परीक्षणपछि स्वास्थ्यकर्मीहरूले प्रत्येक सहभागीलाई स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै आवश्यक परामर्श तथा जीवनशैली सुधारसम्बन्धी सुझावसमेत प्रदान गरेका थिए ।

शिविरमा जनस्वास्थ्य कार्यालय ललितपुरका ल्याब टेक्निसियन निरीक्षक श्रीभद्र शर्मा, लुभु प्राथमिक स्वास्थ्य केन्द्रका डा. रमिन महर्जन तथा बज्रबराही चापागाउँ अस्पतालका मेडिकल टेक्नोलोजिष्ट भोलानाथ पौडेललगायत स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।

स्वास्थ्यकर्मीहरूले पत्रकारहरूलाई नियमित स्वास्थ्य परीक्षण गर्न, सन्तुलित आहार सेवन गर्न, शारीरिक व्यायामलाई दैनिक जीवनको हिस्सा बनाउन तथा धूमपान र मद्यपानजस्ता अस्वस्थ बानीबाट टाढा रहन सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले पत्रकारिता पेशा अत्यधिक व्यस्तता र मानसिक तनावसँग जोडिएको क्षेत्र भएकाले पत्रकारहरूको स्वास्थ्य अवस्थाप्रति विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले यस्ता स्वास्थ्य परीक्षण कार्यक्रमले नसर्ने रोगको प्रारम्भिक पहिचान गर्न सहयोग पुग्नुका साथै समयमै उपचार र सचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

ल्याट टेक्सिसियन शर्माले पत्रकारहरु समाजका सूचना सम्प्रेषक मात्र नभई जनस्वास्थ्य सचेतनाका संवाहकसमेत भएकाले उनीहरूको स्वास्थ्य अवस्था सुदृढ हुनु आवश्यक रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ताजा खबर

सम्बन्धित खबर