
काठमाडौं : सरकारले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन् ।
गत आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुई देशबीच बसेर समस्या समाधान गर्नुपर्ने बताएका थिए । सोही सन्दर्भमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफमा मंगलबार सिंहदरबारमा बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत–नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे आफू आश्चर्य भएको बारेमा कुरा राखेको भन्दै प्रधानमन्त्री शाहको बचाउ गरे ।
प्रधानमन्त्रीको उक्त भनाइबारे परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको र भूमिसम्बन्धी सीमा विवाद समाधानका लागि बनेको संयन्त्रका आधारमा प्रधानमन्त्रीले धारणा राखेको दाबी गरे । सीमा समस्या समाधानका लागि कूटनीतिक नोट पठाइसकिएको र दुई देशबीच रहेका सीमा विवादहरू टेबल टकमार्फत समाधान गरिने स्पष्ट पारे ।
प्रवक्ता पोखरेलले प्रधानमन्त्रीले सदनमा राखेको धारणा पुनः सुन्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे ।