२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति हर्क साम्पाङको आपत्ति, सदनमा उपस्थितिको प्रमाणित गर्न माग

Nada
२०८३ जेठ १९ गते १५:४२
Shares
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति हर्क साम्पाङको आपत्ति, सदनमा उपस्थितिको प्रमाणित गर्न माग

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्‍मा जवाफ माग गरेका छन् ।

ncell

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको विषयमा सरकार र प्रतिपक्ष एक हुनुपर्नेमा जोड दिए ।

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहित प्रतिकूल रहेको भन्दै त्यसलाई अविलम्ब सच्याउनुपर्ने माग गरे । उनले नेपाल–भारत सीमा मिचिएको विषयमा प्रधानमन्त्रीले बिना प्रमाण र पुष्टि बोलेको भए त्यसका लागि ३ करोड नेपाली जनतासँग माफी माग्नुपर्ने अडान राखे ।

बैठकमा सांसद साम्पाङले प्रधानमन्त्रीको सदनमा उपस्थितिको विषयलाई लिएर संवैधानिक र कानुनी प्रश्नसमेत उठाए । प्रतिनिधिसभा नियमावलीको नियम ४ को उपनियम (१) बमोजिम प्रत्येक सदस्यले बैठकमा उपस्थित हुनुअघि हाजिर गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको हाजिरी अभिलेख सार्वजनिक गर्न माग गरे ।

उनले संविधानको धारा ७७ को उपधारा (१) को खण्ड (ग) लाई उद्धृत गर्दै यदि प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य नरहेको अवस्थामा निजको पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्थातर्फ ध्यानाकर्षण गराए ।

उनले प्रधानमन्त्रीले सदनका बैठकहरूमा नियमित हाजिर गरे/नगरेको विषयमा अभिलेख शाखाबाट स्पष्ट जानकारी गराउन सभामुखसँग माग गरे । 

सांसद साम्पाङले प्रधानमन्त्रीले भारतसँगको सीमा विवादका सम्बन्धमा सदनमा आएर तथ्यगत पुष्टि गर्नुपर्ने र हल्का टिप्पणी गर्न नहुने भन्दै सरकारको जवाफदेहितामाथि प्रश्न उठाए । 

ताजा खबर

सम्बन्धित खबर