२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बयान फेरेको भन्दै सरकारी साक्षी गौतमविरुद्ध भ्रष्टाचार मुद्दा

Nada
२०८३ जेठ १९ गते १६:४८
Shares
बयान फेरेको भन्दै सरकारी साक्षी गौतमविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा सरकारी साक्षीका रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएर पछि अदालतमा बयान फेरेको अभियोगमा ईश्वरी प्रसाद गौतमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ncell

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी ठेगाना भएका गौतमलाई ५० लाख रुपैयाँ बिगो कायम गरी मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

चन्द्र बहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुस/रिसवत सम्बन्धी भ्रष्टाचार मुद्दामा ईश्वरी प्रसाद गौतमलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो । अनुसन्धानका क्रममा उनले आयोगका अधिकारीहरूसमक्ष अधिकारीले ऋण उपलब्ध गराइदिए बापत ५० लाख रुपैयाँ घुस लिएको विषयमा सत्यतथ्य बताएर सहयोग गरेका थिए ।

अनुसन्धानमा सहयोग गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम उनलाई सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा अदालतमा पेस गरिएको थियो ।

तर विशेष अदालतमा बकपत्र गर्ने क्रममा गौतमले आयोगमा गरेको बयान र आरोप मागदाबीको पूर्णतः प्रतिकूल हुने गरी बयान फेरेका थिए । सरकारी साक्षीले नै बयान फेरेपछि (होस्टाइल भएपछि) उनलाई दिइएको सजाय छुटको सुविधा रद्द गर्दै आयोगले उनीमाथि नै अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानका क्रममा उनी ५० लाख रुपैयाँको घुस लेनदेन कार्यमा प्रत्यक्ष संलग्न रहेको पुष्टि भएको आयोगको दाबी छ ।

गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र (२) बमोजिमको कसुरमा दोषी ठहर गर्दै ५० लाख रुपैयाँ बिगो र भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसारको जेल सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर