
काठमाडौँ : संघीय संसद् अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले आफ्नो कार्यविधि सर्वसम्मत रूपमा पारित गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा दफावार छलफलपछि उक्त कार्यविधि स्वीकृत गरिएको हो । छलफलका क्रममा सदस्यहरूले दिएका सुझावहरू समेट्दै अन्तिम रूप दिइएको समितिले जनाएको छ ।
समितिकी सभापति समीक्षा बास्कोटाका अनुसार प्रतिनिधि सभा नियमावलीमा गरिएको नयाँ व्यवस्थालाई समेत कार्यविधिमा समावेश गरिएको छ । उनले सबै सदस्यबाट प्राप्त सुझावलाई समेटेर विस्तृत छलफलपछि सर्वसम्मत निर्णय गरिएको जानकारी दिइन् ।
बैठकमा बोल्दै उनले मस्यौदालाई परिमार्जनसहित पारित गरिएको उल्लेख गर्दै कार्यविधि समिति सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको बताइन् ।
बैठकका क्रममा सांसदहरूले संवैधानिक आयोगका प्रतिवेदनहरूको कार्यान्वयन सुनिश्चित गर्न सरकारमाथि दबाब बढाउनुपर्ने धारणा पनि राखेका थिए ।