
काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ४० वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले फिर्ता गरेको छ । फेला परेका ती सवारीमध्ये २५ मोटरसाइकल र १५ स्कुटर रहेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार खोजतलासका क्रममा विभिन्न मिति र स्थानमा चोरी भएका तथा हराएका सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी आज औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सम्बन्धित धनीलाई सवारीसाधन बुझाएका थिए । उनका अनुसार प्राप्त निवेदन तथा विभिन्न सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरी ती सवारी फेला पारिएको हो ।
प्रहरीका अनुसार ती सवारी साधनहरू काठमाडौँ उपत्यकाका सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँबसपार्क, जम्बुडाँडा, सातदोबाटो, काँडाघारी, बानेश्वर, जोरपाटी, गोकर्ण, कीर्तिपुर, सुकेधारा, चुनदेवी, नैकाप, सुन्दरीजल, बौद्ध र जयबागेश्वरीलगायत क्षेत्रबाट बरामद गरिएको हो । केही सवारीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको पाइएको पनि प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार हालसम्म गत साउनयता मात्र ५०२ वटा सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । यसै क्रममा चोरीमा संलग्न ४५ जनालाई समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।