
काठमाडौँ : लामो समयदेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक (असई) र एक युवती काभ्रेको पाँचखालस्थित सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
पर्सा बहुदरमाई-८ रामनगरीका शक्ति राम र कैलाली घोडाघोडी-१ की २६ वर्षीया शर्मिला चौधरी एउटै रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । उनीहरू दुवैजना करिब एक महिनादेखि हराइरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार शव काभ्रेको पाँचखाल नगरपालिका-३ स्थित ठूली सामुदायिक वनमा मौवाको रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो । प्रारम्भिक विवरणअनुसार शव लामो समयदेखि सडेको अवस्थामा थियो, जसका कारण मृत्यु केही दिनअघि नै भएको हुनसक्ने अनुमान गरिएको छ ।
शव सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको हो भने शरीरका भागहरू सडेर जमिनमा झरेको अवस्थामा देखिएको थियो । घटनास्थल नजिक वन समितिका कर्मचारीले अनुगमनका क्रममा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।
प्रहरी अनुसन्धान अनुसार कपडा र साथमा भेटिएका कागजातका आधारमा मृतकहरूको पहिचान पुष्टि गरिएको हो । परिवार र आफन्तहरूले दिएको विवरणसँग मिलाएर उनीहरूको परिचय यकिन गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धान विवरणअनुसार शक्ति राम वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा रहेका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए । त्यस्तै शर्मिला चौधरी वैशाख १८ गते काभ्रेमा रहेका शक्तिरामलाई भेट्न जाने भन्दै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
दुवै परिवारले आ-आफ्नो तर्फबाट खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए । शक्तिरामका परिवारले वैशाख २१ गते सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटर पाँचखालमा निवेदन दिएका थिए भने शर्मिलाका भाइले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजीका लागि निवेदन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयले दुवै शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको जनाएको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।