२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण आधा सम्पन्न

Nada
२०८३ जेठ २० गते १९:०६
Shares
तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण आधा सम्पन्न

काठमाडौँ : तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकामा निर्माण भइरहेको तनहुँ जलविद्युत् आयोजना अन्तर्गतको मुख्य बाँध निर्माण कार्यले महत्वपूर्ण प्रगति हासिल गरेको छ । आयोजनाले सार्वजनिक गरेको विवरणअनुसार प्याकेज-१ अन्तर्गत निर्माणाधीन मुख्य बाँधको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ ।

ncell

आयोजनाको काम २०८१ चैत ७ गतेबाट सुरु भएको थियो। १४० मिटर उचाइको बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट आवश्यक पर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट ढलान सम्पन्न भएको जनाइएको छ ।

आयोजनाका अनुसार बाँध निर्माण सम्पन्न भएपछि यो संरचना नेपालको जलविद्युत् तथा ऊर्जा पूर्वाधार विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

प्याकेज-१ अन्तर्गत बाँधसहितका विभिन्न संरचना निर्माणको जिम्मेवारी सोङ्दा कालिका जेभीले सम्हालिरहेको छ। यस प्याकेजको समग्र प्रगति हाल ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

मुख्य बाँध निर्माणका लागि आवश्यक सुरुङ तथा सहायक संरचनाहरूको निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरी, बाँध निर्माणलाई सहज बनाउन सेती नदीको बहाव पथान्तरण गरिएको छ ।

आयोजनास्थलको माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा आवश्यक अस्थायी बाँध निर्माण कार्य पनि सम्पन्न भइसकेको छ । आयोजनाले निर्धारित कार्यतालिकाअनुसार बाँध निर्माणलाई तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर