
काठमाडौं : लुम्बिनी प्रदेशमा पाँच मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद पुनर्गठनका लागि सिफारिस गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्री समावेश गरिएको छ ।
नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ ।
पुनर्गठित मन्त्रिपरिषद अन्तर्गत एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै,जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए । अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण भने जेठ २५ गते सोमबार हुने भएको छ ।
बुधबार नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका थिए । मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सारु तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।