
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ लाई विज्ञहरूको पर्याप्त सुझाव नलिई अगाडि बढाउन नसकिने बताएका छन् ।
बिहीबार सिंहदरबारमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो भनाइ राखेका हुन् ।
मन्त्री पोखरेलले उक्त विधेयकका सम्बन्धमा विज्ञहरूको पर्याप्त सुझाव आवश्यक भएकाले त्यसका लागि आवश्यक समयसहितको छलफलको व्यवस्था गर्न पनि संसदीय समितिलाई आग्रह गरे ।
उनले उक्त विधेयकको दफादफा अध्ययन गरेर त्यसलाई समृद्ध पनि सांसदहरूको पनि ध्यानाकर्षण गराए । उक्त विधेयकमा कुनै पनि छिद्र नरहने गरी छलफल गरेर मात्रै अघि बढनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।
मन्त्री पोखरेलले विज्ञान र प्रविधिको क्षेत्रमा विज्ञहरूको सुझाव महत्वपूर्ण हुने भएकाले सरकारले त्यसमा विशेष ध्यान दिएको पनि स्पष्ट पारे ।