२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

अध्ययन बिदा लिएर नफर्किएका त्रिवि प्राध्यापकबाट १० करोड बढी रकम फिर्ता

Nada
२०८३ जेठ २१ गते १५:३६
Shares
अध्ययन बिदा लिएर नफर्किएका त्रिवि प्राध्यापकबाट १० करोड बढी रकम फिर्ता

काठमाडौं : अध्ययन बिदा लिएर त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सेवामा नफर्किएका प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको छ । शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति सस्मित पोखरेलले हालसम्म उक्त रकम असुली भएको जानकारी दिएका हुन् ।

ncell

मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने अभियानअन्तर्गत अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकहरूबाट रकम फिर्ता गराउने प्रक्रिया प्रभावकारी रूपमा अघि बढिरहेको बताए । उनका अनुसार थप प्राध्यापकहरू पनि रकम फिर्ता गर्ने प्रक्रियामा सहभागी भइरहेका छन् ।

उनले अध्ययन बिदा विश्वविद्यालयका लागि दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरका जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भए पनि केही प्राध्यापकले त्यसको दुरुपयोग गरेको बताए। राज्यको लगानीमा अध्ययन गर्ने अवसर पाएपछि विश्वविद्यालयको सेवामा नफर्किने प्रवृत्तिले आर्थिकसँगै शैक्षिक र नैतिक क्षति समेत पुगेको उनको भनाइ छ ।

यसअघि अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकका कारण त्रिविलाई दुई अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको विषय सार्वजनिक भएपछि विश्वविद्यालयले छानबिन समिति गठन गरेको थियो । डा. जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले ३९८ जना प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गरेको निष्कर्षसहित प्रतिवेदन तयार पारेको थियो ।

सोही प्रतिवेदनका आधारमा त्रिविले रकम फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेपछि हालसम्म ४४ जना प्राध्यापकले करिब साढे १० करोड रुपैयाँ फिर्ता गरिसकेका छन् । प्रतिवेदन बुझाएपछि विश्वविद्यालयले काफ्लेकै संयोजकत्वमा हेल्प डेस्क गठन गरेको छ, जसले रकम असुली तथा सम्बन्धित प्राध्यापकहरूसँग समन्वय गर्ने काम गरिरहेको छ ।

काफ्लेका अनुसार हालसम्म ६१ जना प्राध्यापकले रकम फिर्ता गर्ने प्रक्रियाका लागि निवेदन दिएका छन् । उनले अझै सम्पर्कमा नआएका प्राध्यापकलाई पनि विश्वविद्यालयसँग सम्पर्क गरी आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका छन् ।

त्रिविको शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियमावली, २०५० अनुसार तीन वर्षभन्दा बढी र पाँच वर्षसम्म अध्ययन बिदा उपभोग गर्ने शिक्षकले कम्तीमा पाँच वर्ष विश्वविद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था छ । तीन वर्षसम्म अध्ययन बिदा लिने शिक्षकले पनि बराबर अवधिसम्म विश्वविद्यालयमा सेवा गर्नुपर्ने प्रावधान रहेको छ ।

नियमअनुसार अध्ययन बिदा सकिएपछि सेवामा नफर्किएमा बिदाको अवधिमा प्राप्त तलब–भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने हुन्छ ।

ताजा खबर

सम्बन्धित खबर