
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा उपकार्यकारी निर्देशकहरूसँग भएको छलफलमा मन्त्री श्रेष्ठले बजेटमा समावेश आयोजना तथा कार्यक्रमहरू निर्धारित समय सीमाभित्र सम्पन्न हुने गरी कार्यान्वयन संयन्त्र सक्रिय बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले कार्यान्वयनका क्रममा उत्पन्न हुन सक्ने नीतिगत वा प्रशासनिक जटिलता समाधानका लागि मन्त्रालय आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै त्यसको नेतृत्व भने प्राधिकरण व्यवस्थापनले नै लिनुपर्ने बताए ।
उनका अनुसार सरकारले आगामी आर्थिक वर्षमा प्रसारण लाइन, सबस्टेसन तथा विद्युत् पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै आवश्यक स्रोत सुनिश्चित गरेको छ । विनियोजित बजेटलाई परिणाममुखी ढंगले परिचालन गर्दै सेवा प्रवाहमा सुधार, विद्युत् आपूर्तिको गुणस्तर अभिवृद्धि तथा दीर्घकालीन स्थायित्व सुनिश्चित गर्नु प्राधिकरणको प्रमुख जिम्मेवारी रहेको उनले बताए ।
मन्त्री श्रेष्ठले मातहतका निकायलाई समयबद्ध कार्ययोजनाका आधारमा परिचालन गर्न आग्रह गर्दै प्राधिकरणका अधिकारीहरूको अनुभव, दक्षता र संस्थागत क्षमताको अधिकतम उपयोग हुनुपर्ने धारणा राखे । समस्या पहिचानमा मात्र सीमित नरही समाधानका लागि कार्यान्वयनयोग्य प्रस्ताव व्यवस्थापन तहबाट आउनुपर्नेमा पनि उनले जोड दिए ।
उनले संस्थाले सामाजिक उत्तरदायित्व निर्वाहसँगै प्रतिफल दिने लगानीका क्षेत्रलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताए । आगामी वर्षहरूमा अघि बढाइने रणनीतिक तथा प्राथमिकता प्राप्त आयोजनाबारे स्पष्ट दृष्टिकोण र निष्कर्ष आवश्यक रहेको उनको भनाइ थियो ।
छलफलका क्रममा विद्युत् महसुल बक्यौता असुलीको विषयलाई नियमित कार्यसूचीको रूपमा अघि बढाउनुपर्ने आवश्यकता पनि मन्त्री श्रेष्ठले औँल्याए । यससम्बन्धी कार्यको निरन्तर अनुगमन गरी निष्कर्षमा पुर्याउन उनले सुझाव दिएका छन् ।
त्यसैगरी, संस्थागत सुशासन सुदृढीकरण, कार्यसम्पादनलाई उपलब्धिमूलक बनाउने तथा प्राथमिकताका आयोजना छनोट गरी कार्यान्वयनमा लैजाने विषयमा उपकार्यकारी निर्देशकहरूलाई खुला रूपमा सुझाव र प्रस्ताव प्रस्तुत गर्न उनले आग्रह गरे ।
बैठकमा उपकार्यकारी निर्देशकहरूले आफ्नो जिम्मेवारी क्षेत्रअन्तर्गत सञ्चालन भइरहेका आयोजना तथा कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए । साथै, आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई व्यवस्थित र समयबद्ध बनाउन विस्तृत कार्ययोजना तयार पार्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै असार १५ गतेभित्र उक्त योजना सञ्चालक समितिसमक्ष पेश गर्ने तयारी रहेको बताएका छन् ।