२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भिडियो खिच्दै बाइक चलाउँदा दुर्घटनामा परेका थिए हर्क साम्पाङ

Nada
२०८३ जेठ २२ गते १३:१०
Shares
भिडियो खिच्दै बाइक चलाउँदा दुर्घटनामा परेका थिए हर्क साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन् । दुर्घटनामा उनको हात तथा शरीरका केही भागमा सामान्य चोट लागेको छ ।

ncell

साम्पाङ बिहीबार उदयपुरको कटारीबाट बेलकातर्फ जाँदै गर्दा आफूले चलाइरहेको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनापछि पनि उनी निर्धारित कार्यक्रममा सहभागी भएको जनाइएको छ ।

दुर्घटनाअघि साम्पाङले मोटरसाइकल चलाउँदै मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा उनले एक हातले मोटरसाइकलको ह्यान्डल समातेको तथा अर्को हातले सेल्फी भिडियो बनाइरहेको देखिन्छ । साथै उनले हेल्मेटको फिता पनि नबाँधेको देखिएको भन्दै सामाजिक सञ्जालमा व्यापक टिप्पणी भइरहेको छ ।

दुर्घटनामा साम्पाङको हातमा चोट लागेको भए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ।

दुर्घटनापछि साम्पाङले सामाजिक सञ्जालमार्फत आफू सामान्य रहेको जानकारी दिएका छन् । उनले लेखेका छन्, 'म आफैं लडें, चोट मलाई नै लाग्यो । अलिअलि चोट लाग्नु पनि पर्छ, तर देशलाई चोट दिएको छैन मैले । धेरै नकराउनु ।'

दुर्घटनाको कारणबारे स्पष्टीकरण दिँदै साम्पाङले अगाडि गुडिरहेको गाडीले बाटोमा रहेको ढुंगालाई छलेपछि आफूले एक्कासि देख्दा मोटरसाइकल नियन्त्रण गर्न नसकेको बताएका छन् । उनका अनुसार सडकमा रहेको ढुंगामा मोटरसाइकल ठोक्किएपछि उनी लडेका थिए ।

घटनापछि भने सामाजिक सञ्जालमा उनको आलोचना बढेको छ । राष्ट्रिय पार्टीका अध्यक्ष तथा सांसदजस्तो सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिले ट्राफिक नियमको पालना नगरेको भन्दै धेरै प्रयोगकर्ताले आपत्ति जनाएका छन् ।

कतिपयले एक हातले मोटरसाइकल चलाउँदै भिडियो खिच्नु र हेल्मेटको फिता नबाँध्नु ट्राफिक नियमविपरीत भएको उल्लेख गर्दै सम्बन्धित निकायले आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर