तारा भट्टराई/मध्यान्ह
इटहरी, २२ भदौ । भनिन्छ जिन्दगीमा दुःख नगरी सुख आउँदैन त्योसँगै संघर्ष नगरी परिचय बन्दैन यो भनाइलाई व्यवहारिक रूपमा उतार्न सफल भएकी छिन् इटहरीकी राधिका कार्की थापा । हातमा सीप भएर पनि रोजगारी नपाउँदा भौतारिएर बिदेशिने युवा पुस्ताका लागि गतिलो उदाहरण हुन् राधिका ।
बाल्यकालमा भोगेको दुःख, युवावस्थामा आइपरेको पारिवारिक बोझ र काधमा जिम्मेवारले भरिएको भारी तैपनि कहिले हरेस नखाएका ती अठोटकाबीच उदाहरण छिन् उनी । बाल्यकालदेखि नै गरेको दुःख र संघर्षके कारण अहिले उनको जीवन फेरिएको छ ।
एक दर्जन बढी सामाजिक संघसंस्थामा क्रियाशिल भएकी राधिका अहिले सफल व्यवसायीसँगै पहिचान पनि बेग्लै छ । हिजोको दिनमा रोजगारी नपाएर इटहरीको सडकमा भौतारीनु भएकी राधिका आज आफैँ १० हजार भन्दा बढी युवा युवतीलाई उपयुक्त सीप सिकाएर रोजगार समेत दिलाइसक्नुभएको छ । बाल्यअवस्था देखि अहिलेको अवस्थासम्म आइपुग्न उनलाई त्यति सजिलो भने थिएन उनले भोग्नुपरेको कष्ट र समस्यालाई पन्छाउँदै प्राप्त गरेको सफलताको कथा यस्तो छ । वि.स.२०३० सालमा झापाको गौरीगाउँमा माता लीला माया कार्की र पिता रूद्रबहादुर कार्कीको कोखबाट जन्मिएकी राधिका परिवारकी साइली छोरी हुन् । आमा बुवा साथै दिदीहरु कामकाज मेलापात गर्दा आफू मूनिको बहिनीहरूको हेर चाह र घर धन्दा तथा खेतिवारी गर्दै बाल्यकाल बिताएकी राधिकाको किशोर अवस्था पनि त्यतिकै दुःख र संघर्षले नै बित्यो ।
बाबा रूद्रबहादुर कार्कीको शारीरिक अवस्था बिग्रदै गएपछि परिवारको जिम्मेवारी पनि थपिएपछि राधिकाले अध्ययन पनि राम्रो गर्न पाइनन् । स्थानीय गाउँमा रहेको विद्यालयबाट ं२ सम्मको अध्यनपछि पढाइलाई बिट मार्दे रोजगारीको खोजिमा निस्किइन् । झापाको दुर्गम ठाउँ गौरी गाउँबाट सपरिवार नै २०५२ सालमा मोरङको सलकपुर झरेको कार्की परिवार मध्येकी साइली छोरी राधिका २०५३ सालमा इटहरी आएकी थिइन् ।
हातमा सीप छदैछ भनेर सुगम शहर इटहरीलाई रोजेर कर्मथलो बनाउँदा सुरू सुरूमा उनलाई निकै कठिनाइ परेको थियो । सीप मात्र नभइ गोजीमा पैसा पनि हुनुपर्ने रहेछ भन्ने आभाष उनले इटहरी शहरबाट सिकेको पहिलो पाठ थियो । मोरङको सुन्दरहरैचास्थित सलकपुरमा सपरिवार छोडेर एक्लै संघर्ष गर्न उनी इटहरी बसाइ थालेकी थिइन् ।
रोजे जस्तो सुगम शहर भएपनि यहाँको वातावरणमा घुलमुलिन उनलाई निकै मुस्किल परेको थियो । शहर त आइयो तर बिहान बेलुका हातमुख जोडनै धाउधाउ हुन थाल्यो । हातमा सीप भएर पनि कुनै जागिर नपाउनु राधिकाको लागि अर्को तनाव थियो । घरको पारिवारिक अवस्था बारे सोचेर राधिकाले यहि शहरबाटै पहिलो संघर्ष थालिन् । आमाले लगाएको तिलहरी बेचेर रू.१६०० मा एक सिलाइ मेसिन जोड्दै इटहरीको सटर भाडामा लिइ व्यवसाय शुरू गरिन् ।
व्यवसायकै दौरानमा उनले इटहरीका व्यवसायी रमेश थापासँग प्रेम विवाह गरिन् । विवाह पश्चात् पनि व्यवसायलाई निरन्तरता दिँदै जाँदा एक वर्षभित्रै सफलता पाइन् । एउटा मेसिन लिएर शुरू गरेको सिलाइ बुनाइको काम अब ३ वटा हुन पुग्यो । यो क्रम संख्या प्रत्येक वर्ष बढ्दै जान थाल्यो र २० वटासम्म पुग्यो । विवाह पश्चात श्रीमान र आफ्नो माइती पक्षका बाबा आमाले दिएको साथ सलाह र सुझावले व्यवसायबाट राम्रो उपलब्धी हात पारेको राधिका सुनाउँछिन् ।
त्यो बेला बाबा रूद्रबहादुरले भन्नुभएको उपदेश कानमा गुञ्जी रहन्छ । राधिका भन्छिन्, ‘बाबा भन्नुहुन्थ्यो कि जीवनमा जस्तो सुकै परिस्थिति आएपनि कहिल्यै हिम्मत नहार्नु । व्यवसाय शुरु गर्दा सुरूमा नचलेको देख्दा मन विरक्तिन्थ्यो । विदेश जाने मन हुन्थ्यो । यस्तो बेला बाबाको उपदेश काम लाग्थ्यो’ उनी भन्छिन् ।
बाबा रूद्र बहादुर कार्की शारीरिक रूपमा कमजोर भएपनि दिमागी अवस्था तेज भएको कारण छोरी राधिकालाई बेला बेलामा बिभिन्न हौसला प्रदान गरिरहन्थे । बाबाको यस्तै हौशलाकै कारण आफुले हिम्मत नहारेको थप उर्जा आएको र काममा निरन्तर लागेको राधिका सुनाउँछिन् । बिस्तारै उनको जीवन बदलिँदै गयो र सामान्य राधिकाबाट अहिले सफल व्यवसायी हुँदै इटहरी मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि चिनिन सफल भएकी छन् ।
करिब एक दर्जन सामाजिक संघ संस्थाहरूमा क्रियायाशिल राधिका समाज सेवासँगै राजनीतिमा पनि त्यतिकै सक्रिय छिन् । नेपाली कांग्रेस सुनसरी जिल्लाकी सक्रिय सदस्य समेत रहेकी राधिका स्थानीय निर्वाचन २०७९ मा पनि इटहरी उपमहानगरमा पार्टिका उम्मेद्वारलाइ जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेकी थिइन् ।
आफु व्यवसायकै माध्यमबाट सफल भइसकेपछि समाजबाट पिछाडिएका तथा विपन्न महिलाहरूलाई अब्बल बनाउन राधिकाले २०६७ सालमा महिला सीप विकाश केन्द्रको स्थापना गरिन् । हातमा सीप भएर रोजगारी नपाएकाहरूलाई रोजगारी दिने र सीप नभएकाहरूलाई सीप दिलाएर रोजगारी प्रदान गर्ने नेपालकै सिर्जनशिल महिलामध्ये राधिका पनि पछिन् ।
त्यो बेला हातमा सीप भएर पनि केहि गर्ने लगानी गरिदिने मान्छे नहुँदा तनावमा बसेको दिन स्मरण गर्दे राधिका भन्छिन्, ‘अब लगानी नभएर कोहि भौतारिनु परेको छैन । २०६७ सालमा स्थापना भएको महिला सीप विकाश केन्द्र १२ औँ वर्षमा प्रवेश गरिरहँदा करिब १० हजार महिला तथा पुरूषहरूले रोजगार पाइसकेको उनको भनाइ छ । यहिबाट सीप सिकेर कोहि मन्त्रालयका कर्मचारी त कोहि स्थानीय तहमा जागिर खाइरहेको र कोहि सफल व्यवसाय बनिसकेको राधिका बताउँछिन् ।
रोजगार नपाएर भौतारिएका हजारौँ किशोर किशोरीहरलाइ सीप दिलाएर रोजगार प्रदान गर्ने जस्तो उत्कृस्ट काम गरेवापत राधिकालाइ अन्तर्राष्ट्रिय अवार्डबाट पनि सम्मान गरिएको छ । यतिमात्र नभइ उनले जीवनमा गरेको संघर्षका कथाहरू अहिले बेलायतका प्रसिद्ध अखबारहरूमा छापिएका छन् । बेलायतको प्रसिद्ध लिभरपुल जोन मुरे युनिभर्सिटीले तयार पारेको नेपालका २५ जना उर्जाशिल र संघर्षशिल महिलाहरूको सूचीमा राधिका पनि पर्छिन् । उक्त युनिभर्सिटीले राधिकाको संघर्ष र पाउको सफलताबारे वर्णन गर्दै पुस्तकमा उतारेको छ ।
यस्तै समाजसेवामा सक्रिय भूमिका निर्वाह गरेवापत उनलाइ दर्जन बढी विभिन्न विधाका अवार्डहरूले पनि सम्मान गरिएको छ । महिलाहरूलाई रोजगार दिलाउने मात्र हैन राधिकाले पहिलो पटक घर छोडेर बाहिर बस्दा भोग्नुपरेको पिडा र समस्यालाई मध्यनजर गर्दे सडकमा भौतारिएर कस्टकर जीवन बिताइरहेकाहरुलाई पनि उद्धार गर्ने सोच बनाउँदै उनीहरूको पुनरूत्थानका लागि माया घर नेपालको परिकल्पना समेत गरिन् ।
जसको परिकल्पना अनुसार नै अहिले इटहरीको हवाइचौकमा माया घर नेपाल स्थापना भइ सडकमा कस्टकर जीवन बिताइ रहेकाहरूलाई उद्धार गर्दै आइरहेको छ । जीवनमा धेरै कुराहरू प्राप्त भए धेरै कुराहरू गुमाइए तर समग्रमा भन्नुपर्दा राधिकालाई इटहरीबाट बेलायतसम्म पु¥याउन त्यो रू.१६०० को सिलाई मेसिन नै लक्की बनेको बताउँछिन् । इटहरी ४ स्थायी बसोबास भएकी राधिकाको हाल एक श्रीमान २ छोरी र १ छोरा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies