२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नागढुंगा-मुग्लिन सडक विस्तार पुनः सुचारु, निर्माणमा गति बढेको दाबी

Nada
२०८३ जेठ २४ गते १६:०५
Shares
नागढुंगा-मुग्लिन सडक विस्तार पुनः सुचारु, निर्माणमा गति बढेको दाबी

काठमाडौँ : मूल्यवृद्धि र निर्माण सामग्रीको अभावका कारण केही समय प्रभावित भएको नागढुंगा-मुग्लिन सडक खण्ड विस्तार कार्य पुनः सञ्चालनमा आएको छ ।

ncell

निर्माण जिम्मा पाएको शर्मा एण्ड कम्पनीका अनुसार परियोजनाका लागि आवश्यक बिटुमिन आपूर्ति भएसँगै काम पुनः तीव्र गतिमा अघि बढाइएको छ । कम्पनीका निर्देशक सौरभ शर्माले निर्माण गतिविधि रोकिएको अवस्थामा रहेको समस्या समाधान भएसँगै कार्य पुनः सुरु गरिएको जानकारी दिए ।

पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र भारतबाट हुने बिटुमिन आपूर्तिमा आएको अवरोधले निर्माण कार्य प्रभावित भएको थियो। पछिल्लो समयमा सम्बन्धित पक्षसँगको समन्वयपछि समस्या केही हदसम्म समाधान भएको जनाइएको छ ।

निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग मूल्य समायोजनलगायतका विषयमा छलफल गरेका थिए। मन्त्रालयले आवश्यक सहजीकरण गर्ने आश्वासन दिएपछि परियोजना पुनः अघि बढाइएको हो ।

काठमाडौँको प्रमुख यातायात मार्गका रूपमा रहेको ९५ किलोमिटर लामो यो सडक खण्डलाई पूर्वी र पश्चिम खण्डमा विभाजन गरी विस्तार कार्य भइरहेको छ । मलेखुदेखि मुग्लिनसम्मको खण्डलाई पश्चिम भाग र मलेखुदेखि नागढुंगासम्मको क्षेत्रलाई पूर्वी भागका रूपमा वर्गीकरण गरिएको छ ।

पूर्वी खण्डलाई थप दुई भागमा विभाजन गरी निर्माण भइरहेको छ। नागढुंगा-नौबिसे खण्डको करिब १२.३४ किलोमिटर क्षेत्रमा भौतिक प्रगति करिब ८५ प्रतिशत पुगेको छ । उक्त खण्डमा पहिलो तहको कालोपत्र सम्पन्न भइसके पनि अन्तिम तहको काम बाँकी छ । दुई पुल निर्माण सम्पन्न भइसकेका छन् भने पहुँच सडक निर्माण कार्य जारी रहेको जनाइएको छ । नौबिसे-मलेखु खण्डमा निर्माण प्रगति करिब ६० प्रतिशत रहेको छ ।

त्यस्तै, पश्चिम खण्ड अन्तर्गत मलेखु-मुग्लिन क्षेत्रको करिब ३८.८६ किलोमिटर भागमा विस्तार कार्य चलिरहेको छ, जसको भौतिक प्रगति करिब ४४ प्रतिशत पुगेको छ ।

ताजा खबर

सम्बन्धित खबर