
काठमाडौँ : कोशी प्रदेश सरकारले सातामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने व्यवस्थामाथि पुनर्विचार गर्ने तयारी थालेको छ । यस विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरोकारवालासँग सुझाव माग्दै औपचारिक छलफल अघि बढाएका छन् ।
मुख्यमन्त्री कार्कीका अनुसार हाल कायम दुई दिने साप्ताहिक बिदा प्रणालीबाट अपेक्षित रूपमा खर्च तथा इन्धन बचत हुन नसकेको प्रारम्भिक मूल्यांकन देखिएको छ । सोही कारण कार्यदक्षता र सेवा प्रवाहलाई ध्यानमा राख्दै विकल्पबारे समीक्षा आवश्यक भएको उनको धारणा छ ।
उनले सामाजिक सञ्जालमार्फत सुझाव माग्दै, प्रदेश मातहतका कार्यालयलाई पुनः पुरानै अभ्यासअनुसार हप्तामा एक दिन (शनिबार) मात्र बिदा राखी बाँकी छ दिन काम गर्ने व्यवस्था उपयुक्त हुने कि नहुने भन्नेबारे प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
उनका अनुसार पाँच कार्यदिने प्रणालीले कामको समय व्यवस्थापनमा चुनौती देखाएको र आर्थिक बचत तथा सञ्चालन खर्च घटाउने लक्ष्यसमेत अपेक्षाकृत रूपमा हासिल हुन नसकेको देखिएको छ ।
संघीय सरकारले गत चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार सातामा दुई दिन बिदा र दैनिक कार्यालय समय परिवर्तन गर्ने व्यवस्था लागू गरेको थियो। पेट्रोलियम आपूर्तिमा देखिएको असहज अवस्थालाई आधार मानेर उक्त निर्णय गरिएको थियो ।
तर पछिल्ला दिनहरूमा उक्त व्यवस्थाप्रति असन्तुष्टि बढ्दै गएको छ। सेवाग्राहीले सेवा प्राप्तिमा ढिलाइ भएको गुनासो गर्दै आएका छन् भने अस्पतालको बहिरंग (ओपीडी) सेवा र शैक्षिक संस्थाहरूको पठनपाठनमा समेत असर परेको टिप्पणी भइरहेको छ ।
विद्यार्थी, अभिभावक तथा सरोकारवाला पक्षबाट शैक्षिक क्यालेन्डर व्यवस्थापनमा कठिनाइ बढेको र पाठ्यक्रम पूरा गर्न दबाब सिर्जना भएको भन्दै व्यवस्था पुनः मूल्यांकन गर्नुपर्ने माग पनि उठ्दै आएको छ ।