२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्कैकी छोरीलाई आफ्नी बनाएर नागरिकता दिलाएको आरोप

Nada
२०८३ जेठ २५ गते १६:४९
Shares
वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ncell

मेयर सिंहले सिन्धुपाल्चोककी रिता भट्टराईकी छोरीलाई आफ्नी छोरी 'रुविना श्रेष्ठ' कायम गरी गलत विवरण पेस गरेर नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको पुष्टि भएपछि आयोगले आरोपपत्र दायर गरेको हो ।

अनुसन्धानका क्रममा मेयर सिंहले वीरगञ्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन पदाधिकारीहरूसँगको मिलेमतोमा अर्कैकी छोरीलाई आफ्नी छोरी भनी गलत विवरण खुलाई २०७१ कात्तिक २० गते जन्मदर्ता प्रमाणपत्र बनाएको देखिएको छ । सोही जन्मदर्ताका आधारमा जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७५/०४/१३ मा रुविना श्रेष्ठको नाममा नागरिकता प्रमाणपत्र जारी गराइएको जनाइएको छ ।

मेयर सिंहबाहेक अन्य कर्मचारी र पदाधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ । वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोखरेल, गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राणा र सदस्य तत्कालीन शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारले मेयर सिंह र रिता भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११, १२ र १९ (२) बमोजिमको कसुरमा मतियार भएको भन्दै सोही ऐनको दफा २२ बमोजिम मुख्य कसुरदार सरह सजाय गर्न मागदाबी गरेको छ ।

त्यस्तै, अन्य सरकारी कर्मचारीहरूलाई पनि भ्रष्टाचार निवारण ऐनका विभिन्न दफाहरू आकर्षित हुने गरी कैद र जरिवानाको माग गरिएको छ । गृह मन्त्रालयका कर्मचारीहरूको हकमा गलत प्रतिवेदन तयार गरी तथ्य लुकाएको भन्दै कैद र जरिवानाको मागदाबी गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर