
काठमाडौं : वैदेशिक रोजगारका जल्दाबल्दा समस्या समाधानका लागि पुरानो कार्यसमिति फेर्ने उद्देश्यसहित करिब डेढ महिनाको उतारचढावपूर्ण अवस्थापछि विशेष साधारण सभाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व संघका पूर्वउपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को काँधमा सुम्पेको छ । कार्यसमितिका लागि ७ पदाधिकारी र १० सदस्यसहित १७ जना व्यवसायी निर्वाचित गरेर सम्पन्न भएको संघको विशेष साधारण सभा धेरै व्यवसायीका लागि आश्चर्यजनक रह्यो ।
नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको एक पक्ष तथा वैदेशिक रोजगार गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलका आधारमा बनेको संयुक्त व्यवसायी समूहले अध्यक्षमा व्यवसायी खत्रीलाई अघि सारेको थियो । लोकतान्त्रिक एसोसिएसनले पूर्वमहासचिव मेघनाथ भुर्तेल र स्वतन्त्र व्यवसायी प्यानलले पूर्वद्वितीय उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई अध्यक्षका प्रत्याशीका रूपमा चुनावी मैदानमा उतारेका थिए ।
नेतृत्वका लागि तीन प्यानलबीच साँघुरो मतान्तरले जित–हारको छिनोफानो हुने अधिकांशको अड्कलबाजी रहेको थियो । तर निर्वाचनमा ठुलो जित निकालेर प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले केन्द्रीय तथा राष्ट्रिय राजनीतिको प्रतिकूल अवस्थामा पनि सांगठनिक आदर्श र उद्देश्यमा विचलित हुनुहुँदैन भन्ने सन्देश आफ्ना सदस्यहरूलाई मात्र नभई सिंगो एमाले पंक्तिलाई दिन सफल भएको छ ।
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले संख्या र आकारमा अन्यभन्दा सानो भए पनि अनुशासन, एकता र वचनमा पक्का रहेको सन्देश दिएका छन् । वचनमा पक्का हुने उनीहरूको अडानले ठुलो सदस्य संख्या भएका संस्थाहरू मात्र बलिया हुन्छन् भन्ने मान्यतामा पुनर्विचार गर्नुपर्ने संकेत पनि गरेको छ ।
निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असहमति जनाई राजीनामा दिएर विशेष साधारणसभाको वातावरण तयार पारी पुनः उम्मेदवार बनेका व्यवसायीहरू नेतृत्वमा दोहोरिएर निर्वाचित भए । राजीनामा नगरी तत्कालीन अध्यक्ष गुरुङले नेतृत्व गरेको कार्यशैलीको निरन्तरता चाहने केही उम्मेदवार अत्यन्त योग्य हुँदाहुँदै पनि उनीहरूले अपेक्षित मत प्राप्त गर्न सकेनन् ।
फराकिलो मतान्तरले जित–हारको फैसला भएपछि प्रतिद्वन्द्वी प्यानलका लागि यो निर्वाचनको परिणाम एक हिसाबले विस्मयजनक सरह नै भयो ।
नेपाल लोकतान्त्रिक वैदेशिक व्यवसायी एसोसिएसनमा विवाद यथावत् राखेर असन्तुष्ट पक्षलाई नमिलाउने हो भने एसोसिएसन वैदेशिक रोजगार क्षेत्रको ठुलो, भरपर्दो र विश्वसनीय संस्था भन्ने मान्यता केवल इतिहास बन्न सक्ने सन्देश पनि मत परिणामले दिएको छ । सामान्यतया संस्थापन जुनसुकै प्रतिकूल परिस्थितिमा पनि हार मान्दैन, बलियो नै रहन्छ भन्ने मान्यता राखिन्छ । तर मत परिणामले त्यसलाई खण्डित गरिदिएको छ ।
संख्या ठुलो भए पनि अनुशासनको अभावमा त्यसले आफूभन्दा सानो शक्तिलाई पनि पराजित गर्न सक्दैन र संख्याको सामथ्र्य सधैं शक्तिशाली हुँदैन भन्ने अर्को सन्देश पनि निर्वाचनको मत परिणामले दिएको कतिपयको आकलन छ ।
आफूद्वारा प्रस्तावित उम्मेदवार ठुलो मतान्तरले पराजित हुनुले लोकतान्त्रिक एसोसिएसनलाई बाह्य पक्षसँगको प्रतिस्पर्धामा जित हासिल गर्न सबैभन्दा पहिले आन्तरिक एकता कायम गर्न तत्कालदेखि नै काम गर्नुपर्छ भन्ने सन्देश मत परिणामले नेतृत्व पंक्तिलाई दिएको कतिपयको टिप्पणी छ ।
कार्यसमिति निर्वाचन परिणामले संघको नवनिर्वाचित नेतृत्वलाई सहकार्य र सहअस्तित्वको मर्म प्रत्येक दिन स्मरण गर्न झक्झकाएको अन्य कतिपय व्यवसायीको विश्लेषण छ ।