
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय, वनस्थली अगाडि जेन जेड समूहले धर्नासहित नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरूले सरकारसँग भएको १० बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्ने, आन्दोलनका क्रममा घाइते तथा शहीद भएका व्यक्तिहरूको उचित व्यवस्थापन सुनिश्चित गर्नुपर्ने र विभिन्न मुद्दामा फसाइएका जेन जेड समूहका सदस्यहरूलाई बिना सर्त रिहा गर्नुपर्ने माग अघि सारेका छन् ।
आन्दोलनमा जेन जेड अभियन्ता, घाइते तथा शहीदका परिवारका सदस्यहरू समेत सहभागी रहेको अभियन्ता सरिस्मा थापाले जानकारी दिइन् । उनका अनुसार आन्दोलनका क्रममा पक्राउ परेर अझै पनि हिरासतमा रहेका व्यक्तिहरूलाई रिहा गर्नुपर्ने विषय प्रमुख माग हो ।
थापाले सरकारसँग भएको १० बुँदे सहमति कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाइने बताएकी छन् ।