–अर्जुन बिष्ट
जिन्दगीमा चुनौती र अवसर दुबैलाई नजिकबाट चिन्ने अवसर पाएँ र आज पत्रकारिताको विश्वविद्यालयमा पत्रकारिता सिकिरहेको छु ।
मेरो गाउँका केही व्यक्ति शिक्षक थिए । पढे/लेखेपछि शिक्षक बन्नैपर्छ भन्ने मान्यता त्यतिबेलाको समाजले राख्थ्यो । हुन पनि गाउँमा शिक्षकको छुट्टै शान थियो । शिक्षकहरूप्रतिको प्रेम, सद्भाव र हेर्ने दृष्टिकोणप्रति फरक किसिमको छाप थियो, गाउँलेहरूमा । स्कुल पढ्दादेखि नै प्रायः मान्छेहरु फलानोको छोराजस्तै मास्टर (शिक्षक) बन्नुपर्छ भन्थे । समाजको प्रशंसा र शिक्षकप्रतिको आकर्षणले मेरो दृष्टिकोणमाथि थप मलजल गराउन थाल्यो । १० कक्षा उत्तीर्ण भएपछि शिक्षक बन्ने दृढ संकल्पसहित मैले उच्च शिक्षाको लागि नयाँ शैक्षिक यात्रा सुरु गरेँ । शिक्षकप्रतिको सम्मानले नै मेरो मानसिकतामा बदलावको भाव जाग्यो । त्यतिबेला लाग्थ्यो, समाजको सबैभन्दा प्रतिष्ठित पेशा शिक्षक नै हो । डाक्टर, इन्जिनियर, पाइलटलगायत अरू शिक्षकको अगाडि केही होइन ।
समय बित्दै जाँदा घरपरिवारले पनि छोराले अब आफ्नो खर्च आफैं जुटाए हुन्थ्यो भन्ने अपेक्षा राखेको पाएँ । मध्यम वर्गीय परिवारमा जन्मिएको मलाई जे गरेर भएपनि पैसा कमाउनु महत्वपूर्ण थियो । सामाजिक उत्तरदायित्व र गाउँलेहरूको शिक्षकप्रतिको आकर्षण देखेर मलाई शिक्षक बन्नु थियो । तर, मन भने शिक्षण पेशामा खुसी थिएन ।
शिक्षणमा रूचि नहुँदा नहुँदै पनि लहैलहैमा र रहरै रहरमा वि.सं. २०६८ मा गाउँकै एक निजी विद्यालयमा पढाउन थालेँ । जागिरे जीवनको हप्तादिन नपुग्दै गाउँ/घरमा प्रशंसा सुरु भइसकेको थियो । समाजमा शिक्षक बने मात्रै असल मान्छे भइन्छ भन्ने गलत बुझाइ र सोचको विकास भयो । त्यही बुझाइ, सोच र विचारको सिकार बनेँ, म ।
पढाउँदै जाँदा शिक्षण पेशा नै मनपर्न छोड्यो । किन हो कुन्नी मलाई पढाउने कामप्रति पटक्कै रूचि लागेन । शिक्षक बन्नु केवल दिन कटाउनलाई मात्रै हो भन्ने लागेर जागिर छोडिदिएँ । स्कुलमा बालबालिकासँग रमाउने, कराउने बानी बसेको मान्छे म केही दिन रन्थनिएँ । मनमा अनेकौँ सवाल खेलिरहे तर, मसँग कुनै जवाफ थिएनन् । त्यसपछि लोकसेवाको तयारी सँगै वैदेशिक रोजगारलगायतका काममा बढी चासोका साथ अघि बढेँ । त्यसैबीच मैले काठमाडौं जाने निर्णय गरेँ ।
कुनै खास लक्ष्य, योजना बिनै गाउँ छोडेर सहर पुस्ने निर्णयमा पुगेको थिएँ । काठमाडौं पुगेपछि रुकुममा सँगै स्कुल पढ्दाको साथी भेटेँ । उसले भर्खरै नयाँ बानेश्वरमा क्याम्पस पढ्न सुरू गरेको रहेछ । हामी एसएसली उत्तीर्ण गरी आ–आफ्नो पेशामा व्यस्त थियौँ । कक्षा ११ मा पढ्दै गर्दा मैले निजी स्कुलमा पढाउन सुरु गरेको थिएँ । ती साथी, ती याद फेरि सम्झिएँ । स्कुल पढ्दाको साथी काठमाडौंमा भेट्दा म नयाँ मान्छेको लागि ढुङ्गा खोज्दा देउता मिले झैँ भयो ।
केही दिन साथीसँगै घुमफिरमै समय बित्यो । काठमाडौं त आएँ तर के गर्ने ? कसरी अगाडि बढ्ने ? मलाई कुनै तरिका थाहा थिएन । त्यो साथी पनि त्यति पाको उमेरका थिएनन् । केही समय अलमलमै बिते । अब अरुको कुरा सुन्नुभन्दा आफैं निर्णय लिनु ठिक लाग्यो । अलमलबाट बाहिर निस्किएर एक्लिएँ । कोटेश्वरमा कोठा लिएर बस्न थालेँ ।
थाक्दै, गल्दै, सम्हालिँदै, भौतारिँदै काम खोज्दाखोज्दै कतिबेला पत्रकार बनेछु पत्यै पाइनँ । त्यही संघर्षशील यात्राबाटै सुरू भयो पत्रकारिताको नयाँ यात्रा । म परिस्थितिले पत्रकार बनेँ ।
मेरो घरपरिवारको संख्या ठूलै थियो । म केही बन्छु र त्यसमै जीवन समर्पण गर्छु भन्ने सोचेको पनि थिइनँ, किनकि घरपरिवारमा त्यस्तो बुद्धिजीवी पििन कोही थिएन । बाबा, आमाको बुढ्यौली उमेर, भाइ सानो, दाजु छुट्टा भइसकेको र दिदीहरु पनि आ–आफ्नो घर व्यवहारमा लागिसकेको र यसो हेर्दा घरको आर्थिक अवस्थाका कारण निश्चित लक्ष्य र योजना तय गर्न सकेको थिएन ।
स्कुल पढाउन छोडेपछि मसँग ठोस योजना पनि थिएन । जस्तोसुकै होस् मलाई कामको आवश्यकता थियो । यो व्यस्त सहरमा जस्तोसुकै काम गरेर भएपनि बाँच्नु थियो । झन् पत्रकारिता पढ्छु र पत्रकार बन्छु भनेर त सोचेकै थिइनँ । काठमाडौंमा बेरोजगार भएर बस्नुको पीडा मलाई राम्ररी थाहा छ ।
यताउति भौतारिँदै काठमाडौं छिरेको पनि दुई÷तीन महिना बितिसकेको थियो । साथी–भाइ, आफन्त भेटघाटमै केही दिन बिताएँ । पहिलो पटक काठमाडौं छिरेको मलाई राम्रोसँग ठाउँहरु पनि थाहा थिएन । कामको खोजीमा एक्लै डुलेँ, एक्लै भौतारिँदा कोटेश्वर झर्नुपर्ने मान्छे कहिले सूर्यविनायक पुग्थेँ त कहिले बसपार्क, आफ्नै कोठासमेत याद हुँदैन्थ्यो ।
विस्तारै बानी पर्न थाल्यो । काठमाडौंलाई चिन्न थालेपछि एनजिओमा जागिर पाएँ । समयसँगै काठमाडौंले सोच बदलिदियो, योजना बदलिदियो र ठोस लक्ष्यसहित जीवन जिउन पनि सिकायो । जेमा भएपनि जागिर खानुबाहेक मेरा लागि अर्को विकल्प थिएन । एनजिओको जागिरले पहिलो निर्णय पढ्ने, अनि राम्रो काम खोज्ने भयो ।
गम्भीर समीक्षापछि पत्रकारिता पढ्ने निर्णय गरेँ । पढ्दै कमाउँदै गर्ने निर्णयसहित प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा स्नातक तहको पत्रकारिता अध्ययन सुरु गरेँ । पढाइ बिहानी सत्रमा हुने भएकोले सोही अनुकूल कामको खोजीमा लागिरहेँ । एकपटक लोकसेवाअन्तर्गत खरिदारको परीक्षासमेत दिएँ तर, सफल भइन ।
एनजिओमा सेक्रेटरी भएर काम गरिरहेकोले कार्यालय सञ्चालनसम्बन्धी केही जानकारी बटुलेको थिएँ । स्नातक तह प्रथम वर्षको परीक्षा पनि सकियो । उता जागिरको अवधि पनि सकियो । फेरि बेरोजगार ! त्यसपछि म प्रमाणपत्र हातमा लिएर जागिरको खोजीमा भौतारिरहेँ । कतै योग्यताअनुसारको काम मिलेन त, कतै कामको लागि योग्यता पुगेन ।
पत्रपत्रिकामा छापिएका विज्ञापन हेरेर अन्तर्वार्ता दिन जाने÷आउने गरेर दिनहरू बित्दै थिए । बिरानो सहरमा न कोही चिनेको, न आफू नै सक्षम भएजस्तो लाग्ने । चिनेका केही आफन्तहरु पनि जागिर लगाइदिने बहानामा कहिले महँगा रेष्टुरेन्ट त कहिले सिंहदरबारका क्यान्टिनमा बिल तिर्न मात्रै लगाउँथे । केही महिना यसैगरी भौतारिँदै बित्यो ।
उता क्याम्पसमा दोस्रो वर्षको पढाइ सुरु भइसकेको थियो । त्यो बीचको दौडाहामा काठमाडौंमा जागिर लगाइदिने झुटो आश्वासन र स्वार्थमा हुर्किएका आफन्तहरुको नियत मज्जाले बुझ्न पाइयो । सबैको नियत बुझेपछि फेरि शैक्षिक योग्यताका प्रमाणपत्र हातमा बोकेएर जागिरको खोजीमा निस्किएँ ।
थाक्दै, गल्दै, सम्हालिँदै, भौतारिँदै काम खोज्दाखोज्दै कतिबेला पत्रकार बनेछु पत्यै पाइनँ । त्यही संघर्षशील यात्राबाटै सुरू भयो पत्रकारिताको नयाँ यात्रा । म परिस्थितिले पत्रकार बनेँ । संघर्ष र निरन्तरको मेहनतले सचेत त बनायो नै, त्योभन्दा बढी एक जिम्मेवार पेशामा आवद्ध भएर बाँच्न पनि सिकायो ।
हातमा शैक्षिक योग्यताका प्रमाणपत्र बोकेर सयौँ ठाउँ चहार्नुको पीडाले वास्तवमै मलाई परिवर्तन गरायो । झुटो आश्वासनमा आफन्तबाटै ठगिने कयौँ युवाहरुको आवाज बन्ने संघर्षसहित पत्रकारिताको मैदानमा उत्रिन पुगेँ । विगतको भोगाइले आज खुसीका साथ पत्रकारितामा रमाउन सक्ने भएको छु । जिन्दगीमा चुनौती र अवसर दुबैलाई नजिकबाट चिन्ने अवसर पाएँ र आज पत्रकारिताको विश्वविद्यालयमा पत्रकारिता सिकिरहेको छु ।
क्याम्पसको समयमा साथीभाइसँग पत्रिका पढ्दा, छलफल गर्दा राजनीतिक विषयमा वादविवाद गरिरहन्थेँ । उनीहरु भन्थे, ‘तेरो रुचि पत्रकारितामा छ, त्यही लाइनमा लाग् ।’ तर उनीहरुलाई मेरो अभाव के थाहा ? म त पत्रिका पढ्ने बहानामा कामको विज्ञापन हेरिरहेको हुन्थेँ ।
भोलिका दिनमा यही पत्रिकामा आफैंले समाचार छाप्नुपर्छ भन्ने सोच कहिल्यै आएन । किनकि मेरो मस्तिष्कमा त शिक्षकपछि सरकारी जागिरले मात्रै जीविकोपार्जन हुन्छ भन्ने सोच थियो । तर, त्यो भ्रमले दिगोपना लिएन । पढ्दै जाँदा, फिल्डमा भिज्दै जाँदा पत्रकारितामा केही गर्छु भन्ने आँट ममा थपिन थाल्यो । दृढ संकल्पसहित अब मैले पत्रकारितालाई अङ्गाल्नुपर्छ भन्ने मानसिकताको विकास भयो । जागिर खोज्दा भोगेको पीडा, कमिसनले थलिएका युवा, हेपाहा प्रवृत्ति र असमानताका विरुद्धमा आवाज उठाउन म पत्रकार बन्नुपर्छ भन्ने भित्रैदेखि इख ममाथि जाग्यो ।
सामान्य परिवारमा हुर्किएको एउटा लुरे केटो २०६२/०६३ सालको जनआन्दोलनको मुखैमा राजधानी छिरेर पत्रकार बन्नु त्यो बेलाको चानचुने कुरा थिएन । न मलाई मोफसलको अनुभव थियो, न त कुनै प्रविधिमा दक्ष थिएँ । थियो त केवल पढाइ र लेखन शैलीमा सामान्य ज्ञान । यही प्रयोग गरेर मलाई जीवन धान्नु थियो ।
उसो त पत्रकारितामा पैसा कमाउन सकिँदैन भन्ने आममानिसको बुझाई छ । त्यो समयमा मलाई धेरै पैसा कमाउन सकिने जागिरको खाँचो थियो । तर, त्यो सम्भव भएन । विभेदकारी व्यवहारको विरुद्धमा मैले कलम चलाउनु थियो । जति कमाउँछु, त्यतिमै रमाउँछु भन्ने सोचका साथ पत्रकारितामा होमिएँ । यदि कोही चुनौतीपूर्ण र अभावग्रस्त जिन्दगी जिउँछ भने त्यो पत्रकार हो । यो अधिकांश मान्छेलाई थाहा छ । अन्य पेशामा चुनौती र अभाव नै छैन भन्न खोजिएको भने होइन । तर जति पत्रकारले गर्नुपर्छ, त्यो दुःख सायद अन्य पेशामा छैन । संयोगवश म त्यही पेशा चुन्न विवश भएँ ।
क्याम्पसमा पत्रकारितासम्बन्धी पढ्थेँ । केही आधारभूत कुरा थाहा पाइसकेको थिएँ । तर समाचार लेख्न त्यति ज्ञान थिएन । २०६७/०६८ तिर नेपालमा अनलाइन मिडिया खासै थिएनन् । दैनिक पत्रिका, रेडियो र टेलिभिजन मात्रै थिए । त्यो पनि अहिले जस्तो धेरै संख्यामा थिएनन् । महिना दिनमै मिडिया बदलेर जागिर पाइहाल्ने अवस्था थिएन । काम पाउन निकै गाह्रो थियो । पत्रकारितामा चिनेका कोही थिएनन् । एक्लै संघर्ष गर्दै जानीनजानी समाचार, स्टोरी तयार पार्न भने म कहिल्यै पछि हटिनँ ।
प्रायः म मान्छेको भीडभाडमा बढी हिँड्थे । रत्नपार्क, सुनधारा, स्वयम्भू, न्युरोड, दरबारमार्ग र पशुपति मेरो लागि अड्डा नै भइसकेका थिए । यी ठाउँहरुमा अनेक किसिमका पात्रहरुसँग भेट हुन्थ्यो । उनीहरुको कथा व्यथा सुन्थेँ अनि त्यसलाई स्टोरीमा ढाल्न प्रयास गर्थेँ । समाचारभन्दा स्टोरीको खोजी र लेख्न बढी रुचाउँथे ।
एकदिन खुला मञ्चमा स्वर्गीय प्रधानमन्त्री सुशिल कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको बृहत कार्यक्रम थियो । त्यही कार्यक्रममा समाचार संकलनका लागि थुप्रै पत्रकारहरु देखिए । त्यो भीडमा एकजना चितवनका पत्रकारसँग परिचय भयो । लामो गफगाफपछि उनले चितवनकै एक स्थानीय पत्रिकामा काम गर्ने अवसर रहेको सुनाए । आफूले त्यो पत्रिकामा कुरा राख्ने बचन दिए । मलाई काम चाहिएको हो । सानो ठूलो नभनी काम सिक्छु भन्ने उद्देश्यका साथ म केही दिनपछि चितवन गएँ । ती साथीले सुरुमा परिचयपत्र बनाउनुपर्छ भनेर फोटो, शैक्षिक योग्यताको प्रमाणपत्रसहित दुई हजार नगद मागेर लिए । तर उनले परिचयपत्रको बहानामा मलाई काम लगाइदिएको कमिसन खाएका रहेछन् । पछि अफिसले कार्ड निःशुल्क दिँदा थाहा पाएँ ।
त्यो पत्रिका साप्ताहिक रहेछ । साप्ताहिकमै भएपनि स्टिन्जरका रुपमा झुन्डिए एउटा समाचार लेखेको ४ सय ५० रुपैयाँ पाइन्थ्यो । साप्ताहिक पत्रिका, त्यसमाथि स्टिन्जर मासिक तलबको कुरा नगरम! करिब ६ महिनापछि फेरि काठमाडौं फर्किएँ । त्यसपछि म औपचारिक रुपमा राजधानी दैनिकसँग आबद्ध भएँ । सुरुमा फिचर लेख्न लगाइयो । समसामयिक विषयमा फिचर लेखेर राजधानी दैनिकमा जोडिएँ ।
राष्ट्रियस्तरको दैनिक पत्रिकामा काम गर्न पाउनु मेरो लागि अवसर र चुनौती दुवै थियो । मेरो पत्रकारिताको जग नै यहिँबाट सुरु भयो भन्दा पनि हुन्छ । पछि विस्तारै राजनीतिक बिटमा कलम चलाउन थालेँ । पत्रकार सम्मेलन, गोष्ठी, सभा, समारोहमा जाँदा सुरुमा के प्रश्न गर्ने ? कार्यक्रममा कसरी बस्ने ? कसरी बोल्ने ? भन्ने बारेमा कुनै पनि ज्ञान थिएन । चिनजानको पनि कोही थिएन । केही चिनेका साथी चितवनमै छुटे । दिनभर रिपोटिङ्ग गरेर बेलुका न्यूजरुममा जान्थेँ । दिनभरको रिपोर्टलाई छपाउन सम्पादकसँग एक किसिमको लडाइँ नै गर्नुपथ्र्यो । सकिनसकि दुःख गरेर तयार पारेको रिपोर्ट नछापिँदा कतिबेला त दिक्क मात्रै लाउथ्यो । तर क्रमशः परिचय गर्दै जाँदा फिल्डमा पनि साथीभाइ बढ्दै गए बानी पर्दै गयो । पत्रकारितामा पनि निखारिँदै गएँ ।
एक दशक लामो अनुभव बटुल्दै गर्दा पत्रकारिता क्षेत्रमा धेरै अवसर र चुनौती भेटेँ । १० वर्षे पत्रकारितामा विभिन्न टेलिभिजन, पत्रपत्रिका, रेडियो र अनलाइन सञ्चार माध्यममा काम गर्ने अवसर पाउँदा आफैंमा गौरवताको भाव जाग्दोरहेछ । त्यो अभाव जसले मलाई पत्रकार बन्न बाध्य बनायो । त्यो व्यवहार जसले आज सामाजिक असमानताका विरुद्धमा डटेर लाग्न सिकायो ।
निरन्तर मेहनत गरे सफल भइन्छ भन्ने एउटा विश्वास आज आफैंमाथि पैदा भयो । बिचौलिया र कमिसनवादीहरुले बिथोल्नै लागेको त्यो मेरो यात्राले जिन्दगीमा कहिल्यै नबिर्सने छाप बसालेको छ । जसको कारण जीवन एक सिकाइ भने झैँ १० वर्षदेखि म पत्रकारितामा बामे सरेर सिक्दैछु । किनकि मलाई चुनौतीसँग खेल्न र अवसरसँग जुध्न मनपर्छ । यी दुबै यही पेशामा पाइन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies