
काठमाडौँ : नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयको काम शून्यबाट सुरु गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालय सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक संरचना निर्माणको प्रक्रिया अघि बढाइएको बताएका हुन् ।
“विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदैछ । यो मन्त्रालय चलाउन अरू मन्त्रालयजस्तो सबै कुरा तयारी अवस्थाका छैनन्,” मन्त्री पुनले लेखेका छन् ।
उनका अनुसार पहिलो दिन नै विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन आवश्यक विधेयक तयार गर्ने निर्णय गरिएको छ । साथै मन्त्रालय सञ्चालनका लागि आवश्यक कर्मचारी, दरबन्दी तथा कार्य प्रणाली निर्धारण गर्न संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै, विभिन्न मन्त्रालयअन्तर्गत छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तनसम्बन्धी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा तत्काल गहन छलफल सुरु गर्ने निर्णय गरिएको उनले बताएका छन् ।