
काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक विवादका कारण जिल्ला समन्वय समिति महासंघ नेपाल नेतृत्वविहीन भएको छ ।
महासंघको छैटौँ राष्ट्रिय परिषदमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिसकेपछि कांग्रेसभित्रै विवाद चर्किएको हो । कांग्रेस, एमाले र नेकपाबीच महासंघलाई साझा बनाउन सहमति भएअनुसार स्थानीय तहको सबैभन्दा ठुलो दल कांग्रेसलाई सभापति दिएर एमाले र नेकपाले बाँकी पद बाँडफाँड गर्न सहमति भयो ।
विगतदेखि महासंघमा प्रमुख दललाई अध्यक्ष, दोस्रो ठुलो दललाई महासचिव तथा अन्य दललाई उपाध्यक्ष, कोषाध्यक्षलगायत पद लिने दिने सहमतिको अभ्यासलाई तीनवटै दलले निरन्तरता दिएका छन् ।
सोही अनुसार मुल नेतृत्व पाएको कांग्रेसले कसलाई अध्यक्ष बनाउने भन्ने विवादका कारण नेता छनोटमा सकस परेको जिल्ला समन्वय समितिका प्रमुखहरूको भनाइ छ ।
एमाले र नेकपाले आन्तरिक समस्या समाधान गरिसकेका छन् । तर, कांग्रेसले पठाएका केन्द्रीय सदस्य मधुु आचार्यले फ्लोरबाट मिलिसकेको विषयमा फरक पात्रलाई उचालेर महासंघको नेतृत्व चयनमा अवरोध पु¥याएको परिषदमा सहभागी अधिकांश प्रमुख तथा उपप्रमुखहरूले आरोप लगाए ।
परिषदका बहुमत सदस्यहरूले काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीलाई अध्यक्ष बनाउन चाहेका थिए । तर, आचार्यले एकाएक ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयाललाई अध्यक्ष र सन्तोष बुढाथोकीलाई प्रवक्ता घोषणा गरेर सरासर हलबाट निस्किए । त्यसपछि जिसस हल काठमाडौंमा असन्तुष्टि र विरोधका स्वरले चर्कोरूप लिएको हो । बुढाथोकीले प्रवक्ता अस्वीकार गर्दै अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । ग्राउण्डको भावना विपरित आचार्यले फरक व्यक्तिलाई अध्यक्ष बनाएर एक मिनेट नबसी कार्यक्रमस्थलबाट बाहिरिएपछि भएको लफडाले जिसस नेतृत्वबिहीन हुन पुुगेको दाङ समन्वय समिति प्रमुख नित्यानन्द शर्माले बताए ।
बुढाथोकीको पक्षमा अधिकांश सदस्य उभिदै गर्दा नेता आचार्यले फुँयाललाई अध्यक्ष घोषणा गर्नुको आधारसमेत के हो ?, भनेर उनीहरू आचार्यमाथि प्रश्न उठाए । आचार्यले भने अध्यक्ष मात्रै होइन, ‘प्रवक्ता पनि ठुलो पद हो’ भन्दै कार्यक्रमस्थल छाडेर भागेको उनीहरूको आरोप छ ।
सबै पदमा मिले पनि अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्तासँगै परिषदमा नेतृत्व चयनको विषय थप पेचिलो बनेको छ । निर्वाचन मितिले पनि यस विषयमा थप केही निर्णय नगरी हलबाट बाहिरिएको थियो । फुँयालले आफू उम्मेदवारी फिर्ता लिने संकेत गरेपनि कांग्रेस नेता आचार्यकै जोडबलमा उनको उम्मेदवारी कायमै छ । यो विषय पार्टीभित्र समेत छलफल एजेण्डा बनेको छ । पार्टीले मिलाउने जिम्मा दिएको भनेर हलमा आएका आचार्यले थप विथोलेर गएको समन्वय प्रमुख तथा उपप्रमखहरूले टिप्पणी गर्दै आएका छन् ।
कांग्रेसका अधिकांश परिषद सदस्यले सन्तोषलाई समर्थन गर्दा पनि आचार्यले फुँयाललाई जबजस्ती अध्यक्ष घोषणा गरेकाले असन्तुष्टी पैदा भएको बाँके समन्वय समिति प्रमुख ज्ञानेन्द्र चौधरीले बताए । ‘विगतमा बुढाथोकीले गरेको कामको मूल्यांकन गर्ने हो भने नैतिकताको आधारमा पनि निर्विरोध गर्नुपर्ने हो, हाम्रो पार्टीमा यही रोगको अन्त्य भएको छैन’, उनले भने ।
महासंघको विधानअनुसार करिब डेढ वर्षअघि नै निर्वाचन सम्पन्न हुनुपर्ने भएपनि तत्कालीन अध्यक्ष राजन मेहताको नेतृत्वमा निर्वाचन हुन सकेको थिएन । कांग्रेसकैतर्फबाट अध्यक्ष बनेका मेहतामाथि महासंघलाई प्रभावकारी रूपमा चलाउन नसकेको, समयमै नेतृत्व हस्तान्तरण नगरेको तथा संस्थालाई निष्क्रिय बनाएको आरोप लाग्दै आएको थियो । उनले नेतृत्व हस्तान्तरणमा सर्वसम्मतिको प्रयास नगरेको सदस्यहरू बताउँछन् ।
निर्वाचन समिति गठन भइसकेपछि परिषद सदस्यहरूको मताधिकार प्रभावित हुने गरी अमुक नेताले नेतृत्व घोषणा गर्नु लोकतान्त्रिक मूल्य, संगठनको विधान र निर्वाचन प्रक्रियाको मर्मविपरीत भएको आरोप परिषद् सदस्यहरूले लगाएका छन् ।
अध्यक्षका उम्मेदवार बुढाथोकी भने पार्टीले कारबाही गरेपनि टिके प्रथाको अन्त्यका लागि आफ्नो उम्मेदवारी कायमै राख्ने र आम सदस्यहरूको भावनामाथि चोट नपु¥याउने बताएका छन् ।