२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेन : नेकपा सांसद दुलाल

Nada
२०८३ जेठ २८ गते १६:१५
Shares
बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेन : नेकपा सांसद दुलाल

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले ल्याएको बजेटले संविधानको मर्म, नेपाली अर्थतन्त्रको यथार्थ र किसान–मजदुरको आवश्यकता सम्बोधन गर्न नसकेको बताएका छन् ।

ncell

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल उनले बजेटको आर्थिक दृष्टिकोण नै स्पष्ट नभएको टिप्पणी गरेका हुन् । उनले बजेटले किसान, मजदुर, बेरोजगार युवा र गरिब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गरे ।

उनले भीर–पहिरो र आधारभूत सेवाबाट वञ्चित हजारौं बस्तीलाई सुरक्षित र व्यवस्थित स्थानमा पुनस्र्थापना गर्न बजेटले कुनै कार्यक्रम नल्याएको बताए । बाँदर आतंकका कारण किसान बाली जोगाउन नसक्ने अवस्थामा पुगेपनि बजेटले त्यस विषयलाई बेवास्ता गरेको उनको भनाइ छ ।

उत्पादनमा आधारित कृषि अनुदान, बाली तथा पशुधन बीमा, किसान पेन्सन र बाँदर नियन्त्रण कार्यक्रम आवश्यक रहेको उनले बताए । स्वास्थ्य क्षेत्रमा पहिलो पटक उपचार सेवामा प्रत्यक्ष कर लगाइएको भन्दै उनले असन्तुष्टि जनाए ।

सरकारी तथ्यांकअनुसार करिव ५९ लाख नागरिक निरपेक्ष गरिबीमा रहेको उल्लेख गर्दै उनले गरिबको जीवनस्तर उकास्ने ठोस कार्यक्रम बजेटमा नदेखिएको बताए । उनले बजेटको कर प्रणाली पनि प्रगतिशील नभई प्रतिगामी रहेको दाबी गरे ।

अप्रत्यक्ष कर र भ्याटको भारले गरिब किसान तथा मजदुर झन् दबाबमा पर्ने उनको भनाइ छ । विद्युत् उपभोगमा भ्याट लगाएर सरकारले स्वदेशी ऊर्जाभन्दा ग्यासलाई सस्तो बनाएको उनले आरोप लगाए । 'अब नागरिकले विद्युत् प्रयोग गरून् कि ग्यास ?' उनको प्रश्न छ ।

उनले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रका मागहरू पनि बजेटमा नसमेटिएकोे गुनासो गरे । यस्तै उनले वैदेशिक ऋणको विषयमा विगतमा सरकारको आलोचना गर्नेहरूले अहिले झन् बढी ऋण प्रस्ताव गरेको उल्लेख गरे ।

ताजा खबर

सम्बन्धित खबर