
रौतहट : रौतहटको गरुडा–समनपुर सडकखण्डमा चार दिनअघि भएको घातक सवारी दुर्घटनाको रहस्य खुलेको छ । दुर्घटनापछि फरार रहेका टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेपछि घटनाको वास्तविकता सार्वजनिक भएको हो ।
जेठ २४ गते राति गढीमाई नगरपालिका–४ सुन्दरपुर चोकमा साइकलमा घर फर्किरहेका गढीमाई–९ मलाही निवासी ३५ वर्षीय प्रमोद सहनीलाई प्रदेश–२–०३–००१ ख २६३३ नम्बरको टिप्परले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सहनीको घटनास्थलमै मृत्यु भएको थियो भने चालक फरार भएका थिए ।
घटनापछि स्थानीयवासी र मृतकका आफन्तले दोषी चालक तथा सवारी साधनलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै गरुडा बजार क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । प्रहरीको आश्वासनपछि आन्दोलन स्थगित गरिएको थियो ।
घटनाको अनुसन्धानलाई तीव्र बनाएको इलाका प्रहरी कार्यालय गरुडाले १९ वटा टिप्पर र १७ भन्दा बढी चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। अनुसन्धानकै क्रममा बृन्दावन नगरपालिका–२ निवासी २४ वर्षीय अब्दुल एजाज पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यका अनुसार प्रारम्भिक बयानमा एजाजले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। उनले शिवम् क्रसर उद्योगबाट ढुंगा बोकेर गरुडातर्फ जाँदै गर्दा साइकलमा सवार सहनीलाई ठक्कर दिएको र त्यसपछि घटनास्थलबाट फरार भएको बयान दिएका छन् ।
प्रहरीले एजाजविरुद्ध सवारी ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ । चार दिनसम्म अन्योलमा रहेको घटनाले चालक पक्राउ परेसँगै स्पष्टता पाएको छ । मृतकका परिवारले दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।