२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

समुदायमा ‘बुबा कक्षा’ : बुहारीलाई घरको काममा सघाउनु बन्यो चन्द्र प्रसादको दैनिकी

ADV
सन्तोष पौडेल
२०८१ जेठ २६ गते २०:३३
समुदायमा ‘बुबा कक्षा’ : बुहारीलाई घरको काममा सघाउनु बन्यो चन्द्र प्रसादको दैनिकी

बर्दिया : तीन जना छोराका बुबा रहेका चन्द्र प्रसाद थारु अहिले पनि कान्छो छोराको दुई महिने छोरीलाई हुर्काउनमा व्यस्त देखिन्छन् । बारबर्दिया नगरपालिका वडा नम्बर २ नारायणपुर गाउँका ६४ वर्षीय चन्द्र प्रसाद थारू आफ्नो फुर्सदिलो समय नाती नातिनाका स्याहार सुसार तथा छोरा बुहारीलाई सघाउँदै दिन बिताउने गरेका छन् । तीन जना छोराहरुमध्ये चन्द्र प्रसाद अहिले कान्छो छोरासँग बस्ने गरेका छन् । उनीसँगै बस्ने कान्छो छोरा जागिरे छन् । घर परिवारलाई खासै समय दिन सक्दैनन्  । 

चन्द्र प्रसादकी बुहारी समेत छोरी स्याहार्ने कि घरको काम सकाउने भन्ने चिन्तामा हुन्छिन् । तर चन्द्र प्रसाद भने आफ्नो बुहारीलाई घरको काममा सघाउने गरेका छन् । नतिनीको लुगा धुने, काखमा लिएर घुमाउने खेलाउने गर्छन् भने घर गाइगोरुलाई घाँसपात, घरको सरसफाई तथा खाना पकाउने कार्यमा समेत बुहारीलाई सघाउने गर्छन् । कान्छो छोराको जेठो सन्तानको रुपमा ८ वर्षीय छोरा पनि छन्, विद्यालय पुर्‍याउने, लुगा मिलाउने, खाना खुवाइदिने लगायतका काममा समेत चन्द्र प्रसादको अग्रसरता रहने गर्दछ । 

चन्द्र प्रसादले आफ्ना नाती नातिनाको स्यहार सुसार तथा बुहारीलाई सहयोग गर्न थालेको धेरै भएको छैन । परम्परागत विचारमै जन्मेका हुर्केका चन्द्र प्रसाद पछिल्लो समय विभिन्न निकाय एवं संस्थाहरुले दिने तालिमहरुबाट उनको यो व्यवहारमा परिवर्तन आएको हो । उनको दैनिकीमा नातिनीको स्याहारमा मात्र होइन्, बुहारीलाई समेत काममा सघाउने गरेको बताउँछन् । चन्द्र प्रसाद यस्तो जिम्मेवार हजुरबुबा, बुबा बन्न चाहन्छन् कि गाउँका अन्यले पनि सिको गरुँन । यस्तो सोच उनीमा गाउँमै सञ्चालन भएको ‘बुबा कक्षा’मा सहभागी भएपछि मात्र विकास भएको हो । 

राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजनामार्फत सञ्चालन गरिएको अभिभावक शिक्षा अन्तर्गत ‘बुबा कक्षा’ले चन्द्र प्रसादलाई यतिको जिम्मेवार हजुर बुबा बन्नमा सघाउ पुर्‍याएको उनी सुनाउँछन् । नारायणपुर गाउँको सहकारी भवनमा पुरुषहरुलाई स्वास्थ्य, महिलाको गर्भावस्था, शिशुस्याहार, बुबा हुनुको सौभाग्य लगायतका विषयमा सिकाउने बुबा कक्षामा पुगेपछि उनले धेरै कुरा बुझेको प्रष्ट पारे । 

उनी भन्छन् ‘पहिले पहिलेको समयमा त छोराछोरीहरु गाउँ घरमै काम गर्दा जन्मने गर्दथे, तर अहिलेको अवस्थामा आमा गर्भवती भएसँगै पटक–पटक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य चौकीमै लग्नुपर्ने र विभिन्न जाँच गर्नुपर्ने, पौष्टिक आहार दिने लगायतका कुरा यहि कक्षाबाट सिकेको हुँ ।’ उनले अगाडि थपे, ‘छोरा जागिरे छ । बुहारी घरकै काम व्यस्त हुन्छिन् । तसर्थ, म आफैँ पनि दैनिक रुपमा बुहारीलाई घरको काममा सघाउनुको साथै नाती नातिनीलाई समेत हेरचाह गर्ने गर्छु । मलाई यसमा छुट्टै आनन्दको समेत अनुभव हुन्छ ।’ 

बाल हेरचाहमा पुरुष संलग्नता प्रवद्र्धन गर्न समुदायमा बुबा समुह गठन गरी बारबर्दिया र ठाकुरबाबा  नगरपालिकामा ‘बुबा कक्षा’हरु सञ्चालन गरिएको छ । सशक्त बालिका परियोजना अन्तर्गत बालबालिकाको हेरचाह र घरको जिम्मेवारीहरुमा बुबा अर्थात् पुरुष अभिभावकहरुको संलग्नतालाई बढावा दिने उद्देश्यले बुबा समुहलाई कक्षा सञ्चालन गरिएको सशक्त बालिका परियोजनाका परियोजना संयोजक मनोज पौडेलले बताए । उनका अनुसार बारवर्दिया र ठाकुरबाबा नगरपालिकामा १६ वटा ‘बुबा कक्षा’हरु सञ्चालनमा छन् । 

कक्षामा लैङ्गिकता, लिङ्ग, लिङ्गभेद र पुरुष, बुबा हुनुको सौभाग्य, स्वस्थ गर्भावस्था, गर्भवती जीवनसाथीलाई सहयोग र साथ, शिशुको जन्म र बाबुको जिम्मेवारी, बालबालिकाहरूको हेरचाह, बालबालिका हुर्काउने कार्य, अपाङ्गता वा सीमितता भएका बालबालिकाको पहिचान, हेरचाह, स्वास्थ्य र सरसफाइ र विपद्मा बुबाको भूमिका लगायतका विषयमा छलफलका माध्यमबाट सहजीकरण गरिने राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर विनिता चौधरीले बताइन् । 

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखि सशक्त बालिका परियोजना सञ्चालित छ । परियोजनाले बालबालिकाको प्रारम्भिक अवस्थादेखि उनीहरुको सर्वाङ्गिण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise