२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुस्तामा फेरि तनाव : एसएसबीविरुद्ध प्रतिकार

Nada
२०८३ जेठ ३० गते ०६:३०
Shares
सुस्तामा फेरि तनाव : एसएसबीविरुद्ध प्रतिकार

काठमाडौं : पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन् । केहीबेर विवादको अवस्था बने पनि पछि भारतीय सुरक्षाकर्मी फर्किएका हुन् ।

ncell

बिहान करिब ७ बजे सुस्ता गाउँपालिका–५ स्थित थारू टोलनजिक हतियारसहित पाँचजना भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको स्थानीय बताउँछन् । खेतमा काम गरिरहेका स्थानीयले उनीहरूलाई आफ्नै भूमिमा फर्किन आग्रह गरेका थिए । त्यसक्रममा केहीबेर भनाभनसमेत भएको थियो । सुस्ता गाउँपालिका–५का वडा सदस्य आदम हुसेनका अनुसार, एसएसबी नेपालस्थित सशस्त्र प्रहरीको क्याम्पभन्दा पूर्वतर्फ प्रवेश गरेको थियो । स्थानीयले विरोध जनाएपछि उनीहरू फर्किएका हुन् । 

सीमा क्षेत्रमा रहेको खोला तरेर भारतीय सुरक्षाकर्मी नेपाली भूमितर्फ आएको भन्दै सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले आपत्ति जनाए । ‘जानकारीबेगर अनधिकृत रूपमा नेपाल छिरेपछि विरोध त हुने नै भयो । केहीबेर विवादपछि दुवै देशका सुरक्षाकर्मीको पहलमा अवस्था सामान्य बनाइयो,’ उनले मध्यान्हसँग भने । 

जिल्ला प्रशासन कार्यालयले भने घटनालाई नियमित गस्तीका क्रममा उत्पन्न परिस्थिति भन्दै भिन्न ढंगले व्याख्या गरेको छ । पश्चिम नवलपरासीका प्रजिअ दीपकराज घिमिरेले सीमानजिक पानी जमेको क्षेत्र पार गर्ने क्रममा नेपालतर्फ आएको भारतीय टोलीले बताएको जनाए । ‘गस्तीमा आउने क्रममा पानी जमेको ठाउँ छिचोल्ने क्रममा नेपालतर्फ आएको बुझियो । नेपाली सुरक्षाकर्मी तत्काल पुगेका स्थितिलाई सामान्य बनाए,’ उनले भने । 

सुस्ता क्षेत्रमा केही सातायता तनाव बढेको छ । गत जेठ १७ गते नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धको काम रोक्न भारतीय सुरक्षाकर्मी आएको भन्दै स्थानीयले विरोध गरेका थिए । त्यसयता सीमा क्षेत्रमा दुवै पक्षले निगरानी बढाएका छन् । स्थानीयका अनुसार, तटबन्ध निर्माणका क्रममा भारतीय पक्षले पटक–पटक अवरोध गर्दै आएको छ । विवादपछि दुवै देशका जिल्लास्तरीय सुरक्षा अधिकारीबीच छलफल भई सम्बन्धित क्षेत्र कसैले प्रयोग नगर्ने सहमति भएको थियो । तर, त्यसपछि पनि भारतीय सुरक्षाकर्मी नेपाली भूमिमा देखिएपछि स्थानीयले प्रतिकार गरेका हुन् । 

सुस्तामा भारतले वर्षौंदेखि नेपाली भूमि मिचेको छ । स्थानीय दाबीअनुसार सुस्ताको कुल ४० हजार ९८० हेक्टर क्षेत्रफलमध्ये करिब १४ हजार हेक्टर भूमि भारतीय अतिक्रमणमा परेको छ भने १९ हजार ४८० हेक्टर क्षेत्र विवादित बनेको छ । अहिले सुस्तावासीले करिब सात हजारदेखि सात हजार पाँच सय हेक्टर भूमि मात्र जोतभोग गर्न पाएका छन् । सुस्ताको २४ किलोमिटर क्षेत्रमा अझै सीमा स्तम्भ छैन । यही कारण सीमा निर्धारणमा अन्योल कायम रहँदा स्थानीयले पटक–पटक समस्या भोग्नुपरेको छ । 

सरकारका प्रवक्ता सस्मित पोखरेलले सुस्ताको समस्या वर्षौ पुरानो भएको र स्थानीयले नेपाली भूमि संरक्षण गरेकोभन्दै प्रशंसा गरे । ‘यो वर्षौदेखिको समस्या हो । नेपाली नागरिकले दशकौंदेखि संरक्षण गर्नुभएको छ’ उनले भने, ‘कूटनीतिक रुपमा गर्नुपर्ने काम हामी गर्छौं ।’ 

ताजा खबर

सम्बन्धित खबर