२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

चौधरीको सक्रियताले फेरिँदै वडाको मुहार

Nada
कृष्ण तिवारी
२०८३ जेठ ३० गते २०:५९
Shares
चौधरीको सक्रियताले फेरिँदै वडाको मुहार

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ८ मा पछिल्ला वर्षहरूमा विकास निर्माणका गतिविधि उल्लेखनीय रूपमा बढेका छन् । वडाध्यक्ष नितेश चौधरीको नेतृत्वमा सडक, नाला, शिक्षा, खानेपानी, कृषि तथा धार्मिक पूर्वाधार निर्माणका कामले तीव्रता पाएको स्थानीयवासीले बताएका छन् । 

ncell

करिब ४ हजार जनसंख्या, ७ सय घरधुरी र १ हजार ८ सय मतदाता रहेको यस वडाअन्तर्गत विजयपुर, बुनियाद र लक्ष्मिनिया गाउँमा विभिन्न विकास आयोजना सञ्चालन गरिएका छन् । सीमित स्रोत–साधनका बाबजुद वडा कार्यालयले नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राख्दै योजनाहरू कार्यान्वयन गर्दै आएको बताइएको छ ।

आर्थिक वर्ष २०७९/८० मा वडा बजेटबाट अधुरो सामुदायिक भवन निर्माणका लागि ७ लाख रुपैयाँ खर्च गरिएको थियो। त्यस्तै, मावि विजयपुरमा शौचालय निर्माण, बुनियादमा छठ घाट तथा ढलान, विभिन्न टोलमा नाला निर्माण तथा विद्यालयहरूमा आधारभूत पूर्वाधार विकासका काम सम्पन्न भएका थिए ।

आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाको बजेट सञ्चालनमा कठिनाइ आए पनि वडा स्तरका योजनालाई निरन्तरता दिने प्रयास गरिएको थियो । त्यसपछिको आर्थिक वर्ष २०८१/८२ मा कृषि सडक ढलान, सडक ग्राभेल, नाला निर्माण, विद्युत् पोल तथा तार विस्तार, विद्यालय मर्मत, बेन्च–डेस्क खरिद, छठ घाट टहरा निर्माण, कल्भर्ट तथा खानेपानी योजनासहितका पूर्वाधार विकासका कार्य सम्पन्न भएका थिए ।

चालु आर्थिक वर्ष २०८२/८३ मा पनि विकास अभियान निरन्तर रहेको छ। मावि विजयपुरमा झ्याल–ढोका मर्मत, अधुरो नाला निर्माण, ब्रह्मस्थान मर्मत, छठ घाट ढलान, सामुदायिक भवन घेराबेरा, कृषि सडक निर्माण तथा नयाँ नाला निर्माणका योजना अघि बढाइएको वडा कार्यालयले जनाएको छ । साथै ब्रह्मबाबा मन्दिर निर्माणको योजना समेत समावेश गरिएको छ ।

वडामा प्रदेश तथा संघीय सरकारका सहयोगमा समेत ठूला आयोजनाहरू सञ्चालन भइरहेका छन् । मधेश प्रदेश सरकारको बजेटमा रामजानकी भवन निर्माण भइरहेको छ भने राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत मावि विजयपुरमा नयाँ विद्यालय भवन निर्माण कार्य जारी छ । आधारभूत विद्यालय बुनियादमा भवन निर्माण, सडक ढलान, लालबकैया क्षेत्रमा तटबन्ध निर्माण तथा हरित पार्क स्थापनाको तयारी पनि भइरहेको छ ।

यसैगरी लक्ष्मिनिया, बुनियाद र विजयपुर क्षेत्रमा करोडौँ रुपैयाँ बराबरका सडक ढलान तथा तटबन्ध निर्माण योजना सञ्चालन हुने भएका छन् । संघीय सरकारको सहयोगमा विद्युत् पोल तथा तार विस्तारको ठूलो योजना समेत अघि बढाइएको छ । वडा कार्यालयको पहलमा एलटी लाइन विस्तारको काम पनि सम्पन्न भइसकेको जनाइएको छ ।

स्थानीयवासीहरूले वडाध्यक्ष चौधरीको कार्यशैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । स्थानीय ठगा भगतले छोटो समयमै उल्लेखनीय विकास भएको भन्दै प्रशंसा गरेका छन् भने रामाशंकर साहले विद्यालयमा भएका पूर्वाधार विकासका कार्यलाई उपलब्धिमूलक बताएका छन् । स्थानीय राधेश्याम यादवका अनुसार नाला निर्माणपछि वर्षायाममा घरभित्र पानी पस्ने समस्या समाधान भएको छ ।

स्थानीयवासीहरूका अनुसार वडाध्यक्ष चौधरीको नेतृत्वमा शिक्षा, स्वास्थ्य, सडक, नाला, खानेपानी तथा धार्मिक संरचना निर्माणमा भएको प्रगतिले वडा नं. ८ को मुहार फेरिन थालेको छ । विकासप्रति प्रतिबद्ध नेतृत्व र निरन्तर सक्रियताका कारण वडा अहिले समृद्धिको मार्गतर्फ अघि बढिरहेको स्थानीयहरूको विश्वास छ ।

ताजा खबर

सम्बन्धित खबर