
काठमाडौँ : आज विश्व रक्तदाता दिवस मनाइएको छ । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइएको हो ।
सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै नि:शुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।
यसै दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लवमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा नियमित रक्तदान गर्नेहरूलाई सम्मान गरिएको थियो । यसका साथै रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम पनि राखिएको थियो ।
नियमित रक्तदाता पर्याप्त नहुँदा कतिपय अवस्थामा बिरामीका आफन्तले नै रगत खोज्दै विभिन्न स्थानमा भौंतारिनुपर्ने बाध्यता छ । यस्तो समस्या समाधानका लागि विशेषज्ञहरूले स्वस्थ व्यक्तिलाई नियमित रक्तदान गर्न आग्रह गरेका छन् । सामान्यतया १८ देखि ६० वर्ष उमेर समूहका, कम्तीमा ४५ किलो तौल भएका स्वस्थ व्यक्तिले चिकित्सकीय परीक्षणपछि तीन–तीन महिनाको अन्तरालमा रक्तदान गर्न सक्ने चिकित्सकहरूको भनाइ छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ ।
डब्लुएचओले संकलन गरेको १३२ देशको तथ्यांकअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत संकलन करिब १९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा प्राप्त अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वेच्छिक तथा नि:शुल्क रक्तदाताबाट आएको छ ।
सुरक्षित रगत तथा रगतजन्य पदार्थमा पहुँच विश्वका सबै क्षेत्रमा समान छैन । विशेषगरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव भएका महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा ‘थालासेमिया, हेमोफिलिया,’ रोग प्रतिरोधात्मक कमजोरी र केही प्रकारका क्यान्सरबाट प्रभावित बिरामीले आवश्यक रगत समयमै प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् ।
एउटा सानो निर्णयले कसैको जीवन बचाउन सक्छ। त्यसैले आजको दिन केवल रक्तदातालाई सम्मान गर्ने दिन मात्र होइन, आफू पनि नियमित स्वेच्छिक रक्तदाता बन्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा लिन आवश्यक देखिन्छ ।