
काठमाडौँ : गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको घटना सोधपुछका लागि प्रहरीले १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले छ र इलाका प्रहरी कार्यालय मालाखेतीले चार जना गरी १० जना वन कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार महिलाले खुद्रा सामान बिक्री गर्न प्रयोग गर्दै आएको टेम्पो भिरबाट खसाल्ने कार्यमा संलग्न भएका कर्मचारीको पहिचान गर्ने काम भइरहेको छ ।
भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाईबाँधेमा धनादेवी धामीले खुद्रा पसलका लागि प्रयोग गर्ने गरेको टेम्पो वन कर्मचारी र वन रक्षकले भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
डिभिजन वन कार्यालय धनगढीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो कवाड भइसकेको र छाप्रोका रूपमा प्रयोग गरेर सडक छेउमा राखिएको जनाएको छ ।
धामीका अनुसार वन कर्मचारीले पहिला जबर्जस्ती टेम्पो भित्रको सामान बाहिर झरिदिएका थिए ।
टेम्पो भिरबाट खसालिएको भिडियो भाइरल भएपछी वन कर्मचारीले वन कार्यालयले टेम्पो भिरबाट नियतवश नखसालेको स्पष्टीकरण दिएको थियो ।
कार्यालयका अनुसार भिरतर्फ धकेलिएको टेम्पो चल्ने अवस्थामा नभएको, चक्का तथा इन्जिन पूर्ण रूपमा बिग्रिएको, वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको टहरोका रूपमा प्रयोग हुँदै आएको कवाडी संरचना थियो ।
दुवै पक्षको आ-आफ्नै अडानपछि वास्तविकता बुझ्न प्रहरीले वन कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।